आइतबार, असार २२, २०८२

अध्यक्ष ओलीकाे विश्वास जाेगाउन नसकेकाेमा थापा दुःखी

नेपालखोज २०७९ मंसिर ८ गते १५:१५

काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिएका छन् ।

बिहीबार दिउँसो सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले ओलीलाई शुभकामना दिएका हुन् । झापा ५ मा कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गर्दै ओलीले ५२ हजार ३१९ मत ल्याएका छन् । अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरे ।

एमाले अध्यक्ष ओलीलाई शुभकामना दिएका अध्यक्ष थापाले आफूले विश्वास जोगाउन नसकेकोमा भने दुःख मानेका छन् । एमालेको समर्थनमा एमालेकै चुनाव चिह्न सूर्य लिएर मकवानपुर क्षेत्र १ बाट प्रतिस्पर्धामा रहेका थापाले ओलीको विश्वास जोगाउन नसकेको दुःखी रहेको बताएका हुन् ।

मकवानपुर १ मा राप्रपाका दीपकबहादुर सिंहको अग्रता छ भने कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले सिंहलाई पछ्याइरहँदा थापा तेस्रो स्थानमा देखिएका छन् । आफू पराजित हुने भएपछि थापाले एमाले अध्यक्ष ओलीसँग विश्वास जोगाउन नसकेकोमा दुःखी भएको बताएका हुन् । फेसबुकमा ओलीलाई मेन्सन गर्दै थापाले लेखेका छन्, मलाई विश्वास गर्नुभएकोमा केपी शर्मा ओलीलार्ई धन्यवाद । तर, तपाईंको विश्वास जोगाउन नसकेकोमा दुःखी छु । तपाईंलाई मेरो शुभकामना ।’

प्रतिक्रिया