मंगलबार, चैत ६, २०८०

चुनाब जित्नेहरु-६

नेपालखोज २०७९ मंसिर १० गते १६:३८

शेखरले फराकिलो मतान्तरमा हराए लालबाबु लाई

मोरङ-६ का कांग्रेस उम्मेदवार शेखर कोइरालाले आफ्ना प्रतिद्वन्दी नेकपा एमालेका लालबाबु पण्डितलाई १२,२८४ मतले पराजित गरेका छन् । कोइरालाले ३५,२१३ मत ल्याएका छन् भने लालबाबु पण्डितले २२,९२९ मत प्राप्त गरेका छन्।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा कोईराला यहि निर्वाचन क्षेत्रमा उनै लालबाबु पण्डितसँग पराजित भएका थिए।

कम मतान्तरमा विष्णु पौडेल

रुपन्देही-२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी भएका छन् । एमाले उपाध्यक्ष पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १३ सय ६६ मतले पराजित गरेका हुन् । अन्तिम मतपरीणामअनुसार एमाले उम्मेदवार पौडेलले २७ हजार १ सय ४८ मत प्राप्त गरेका छन् भने स्वतन्त्र पार्टीका उम्मेदवार पौडलले २५ हजार ७ सय ८२ मत प्राप्त गरेकाे प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिए । यहाँ सत्ता गठबन्धन दलको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सूर्यवंशीले २२ हजार १० मत प्राप्त गरेका छन् । १ लाख २६ हजार ८ सय सात मतदाता रहेको रुपन्देही-२ मा ८० हजार ६ सय ५१ मत खसेको थियो जसमा ३१ सय ९३ मत बदर भयो ।

सिरहा–३ बाट एमालेका लीलानाथ श्रेष्ठ

एमालेका लीलानाथ श्रेष्ठ २८ हजार ६४ मतकासाथ निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८ सय ८२ मत प्राप्त गरेका छन । यसैगरी तेस्रो स्थानमा रहेका जनमत पार्टीका दिनेशकुमार यादवले ११ हजार १ सय ४६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका गोवद्धनदास तत्माले १ हजार २ सय ५९ मत प्राप्त गरेका छन । यो क्षेत्रमा २०७४ सालमा पनि एमालेका श्रेष्ठ नै निर्वाचित भएका थिए ।

कैलाली – ५ मा कांग्रेस

कैलाली निर्वाचन क्षेत्र नम्बर – ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन् । नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । पन्तले २१ हजार ३ सय ९२ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी एमालेका रानाले २० हजार ३ सय १८ मत प्राप्त गरेका छन् ।

कास्की – १ मा गुरुङ

कास्की – १ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । गुरूङले नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६ सय ९ मतान्तरले पराजित गरेका हुन् । एमालेका गुरुङले २५ हजार ७ सय ९८ मत प्राप्त गरेका छन भने कांग्रेसका बराल २३ हजार १ सय ८९ मत मै र‍ोकिए ।

मधेसबाट महिला

बारा – ३ मा नेकपा एमालेकी ज्वालाकुमारी साह विजयी भएकी छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवलाई झन्डै तीन हजार मतले हराएकी हुन्। यहाँ ज्वालाकुमारी साहले २० हजार २ सय ५१ मत ल्याएकी छिन् भने रामबाबु कुमारले १७ हजार २ सय ७९ मत ल्याएका छन्। यसैगरि लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबु सिंह भुइहार ११ हजार ९ सय ६४ मतका साथ तेस्रो स्थानमा छन्।

प्रदेश मन्त्रीले जिते प्रतिनिधि सभा

हुम्लाबाट छिरिङ डम्डुल लामा (कार्चेन) प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। नेकपा माओवादी केन्द्रका लामा १४ हवार ३ सय ७१ मतसहित निर्वाचित भएका हुन्।अन्तिम मतपरिणाम अनुसार लामाका प्रतिस्पर्धी दल रावलले ९ हजार ५सय १६ मत मात्र ज‍ोडन सके । नवनिर्वाचित लामा यसअघि कर्णाली प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए ।

नुवाकोट – १ मा माओवादी

नुवाकोट – १ मा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ २३ हजार ६ सय ८३ मतका साथ निर्वाचित भएका छन्। यहाँ उनका प्रमुख प्रतिद्वन्दी नेकपा एमालेका बद्री मैनालीले २० हजार ९ सय ८२ मत प्राप्त गरेका छन् । नुवाकोट – १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रधुम्न महत क्षेत्री ५ हजार ९ सय ३८ मत ल्याए भने राप्रपाका उम्मेदवार सुदर्शन सिटौला १४ सय ८० मत ल्याएका छन्।

दीपक खड्का बिजयी

संखुवासभामा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्का बिजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमलाई हराएका हुन्। दीपकले ३२ हजार १ सय ५८ मत ल्याए भने राजेन्द्रप्रसादले २६ हजार ७ सय १९ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भक्तनारायण श्रेष्ठले १ हजार १ सय ३६ मत ल्याएका छन् । यसैगरी जसपाका दीपककुमार राईले ८ सय ११, राप्रपाका भोलामान कार्कीले ३सय ८ तथा स्वतन्त्र तेन्जी भोटियाले ५२२ मत ल्याएका छन्।

स्याङ्जाबाट राजु

स्याङ्जा क्षेत्र नम्बर – १ बाट नेपाली कांग्रेसका राजु थापा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। थापाले नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद मरासिनीलाई हराएका हुन् । कांग्रेसका राजुले ३१ हजार ९ सय ९९ मत ल्याए भने एमालेका मरासिनी २८हजार ७सय ४४ भन्दा अघि बढन सकेनन् । यस हिसाबले राजुले उनिहरु बिच ३ हजार २ सय ५५ मतको अन्तर छ ।

गुप्तालाई पराजित गर्दै सुरेन्द्र

कपिलवस्तु – २ बाट नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन् । आचार्यले नेकपा एमालेका वृजेश कुमार गुप्तालाई पराजित गरेका हुन् । अन्तिम मत परिणामअनुसार आचार्यले ३९ हजार १४ मत ल्याउँदा एमालेका गुप्ता ३८ हजार ६९७ मतमा रोकिए ।

पाल्पा-२ बाट एमालेका गैरे

पाल्पा – २ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे विजयी भएका छन् । गैरेले २७ हजार ८ सय १७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी नेकपा (एकीकृत समाजवादी) का सोमप्रसाद पाण्डेले २३ हजार ८ सय ५१ मत प्राप्त गरेकाे जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख रुक्माङ्गगत अर्यालले जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो क्षेत्रमा ११ राजनीतिक दल तथा तीन स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गैरेले ५ हजार १ सय ८० मत प्राप्त गरेका छ ।

प्रतिक्रिया