शनिबार, माघ २६, २०८१

मोटरेवल पुल नहुँदा आवागमनमा सास्ती

नेपालखोज २०८१ माघ २३ गते १५:२६

मनाङ । जिल्लाको नासोँ गाउँपालिका–५ र ६ जोड्ने मोटरेवल पुल नहुँदा आवागमनमा समस्या हुँदै आएको छ । मोटर तार्न र आवतजावत गर्न साँघु बनाएर चल्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् । । मनसुन सक्रिय भएपछि तिल्चेवासीले मोटर तार्न र आवतजावत गर्न स्थानीयले काठका पुल भत्काउँछन् ।

Advertisement

सदरमुकामबाट गाउँ जाने बाटोमा पर्ने दूध खोलामा हरेक वर्ष मनसुन सकिएपछि पुल बनाएर आवागमनको व्यवस्था गरिन्छ । वर्षा लागेपछि काठे पुल भत्काउने र हिउँद लागेपछि बनाउने तिल्चेवासीको काम हो । स्थानीय गुणराज गुरुङले भने, वर्षा सकियो, गाउँवासी मिलेर पुल बनाउँछौँ, हरेक वर्ष वर्षा लागेपछि पुल झिकेर राख्छौँ, हिउँद लागेपछि झारा उठाएर हाल्छौँ । पुलबाट गाडी आउजाउ र स्थानीयलाई हिँड्न सजिलो भएको उनले बताए ।

उनले भने, पर्यटक पनि यही पुल तरेर लार्केपास निस्कन्छन् । अघिल्लो वर्ष स्थानीय सरकार र गाउँलेले रु चार लाखभन्दा बढी खर्च गरी पुल निर्माण गरेका उनले उल्लेख गरे । नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले अहिले पुरानो पुल भएकाले झारा उठाउन रु दुई लाख खर्च भएको जानकारी दिए । उनले भने, सुरुमा काठसहित रु चार लाख जति खर्च भयो, अहिले काठ किन्न पर्दैन रदुई लाखमा अस्थायी पुल तयार हुन्छ ।

पुल बनाउन स्थानीय सरकारले पहल गरिरहेको भन्दै अध्यक्ष गुरुङले आठ वर्षअघि यहाँ पक्की पुल बनाउन ठेक्का लागिसकेका पनि ठेकेदार कम्पनी बेपत्ता भएपछि रोकिएको बताए । उनका अनुसार विसं २०७३ असार २० मा एमएस सञ्जीवनी खड्का कृष्णा र द क्याराभान कम्पनीले विसं २०७४ मङ्सिर २३ गतेसम्म पुल निर्माण सक्नेगरी संयुक्त ठेक्का सम्झौता गरेका थिए । करिब ३० प्रतिशत काम गरेर ठेकेदार कम्पनी बेपत्ता भएका उनको भनाइ छ ।

ठेकेदार कम्पनीसँग पटकपटक बैठक बस्दा पुल निर्माण पूरा गर्ने प्रतिबद्धता जनाए पनि काम नभएको उहाँले बताउनुभयो । यहाँ खोला तरेर तिल्चेवासीले दैनिकी गुजार्छन् भने पर्यटक लार्के पास गर्छन् । साविक जिल्ला विकास समिति हुँदा रु चार करोड एक लाखमा ठेक्का लागेको पुल पटकपटक म्याद थप गर्दा पनि सम्पन्न भएको छैन । सङ्घीयता कायम भएपछि अहिले पुलको स्वामित्व पूर्वाधार विकास कार्यालयमा सरेको छ, अध्यक्ष गुरुङले भने ।

उनका अनुसार सम्झौताअनुसारको मितिमा पुल नबनेपछि विसं २०७७ असार २९ मा निर्माण सम्पन्न गर्नेगरी पहिलोपटक म्याद थप भएको थियो । जिल्ला प्रशासन कार्यालयले त्यसअघि पटकपटक बैठक राखेर पुल बनाउन निर्देशन दिँदै आएको जनाएको छ । थपिएको म्यादमा पनि निर्माण सम्पन्न नभएपछि विसं २०७८ चैत मसान्तसम्ममा सक्नेगरी पुनः दोस्रो पटक म्याद थप भएको थियो । त्यसपछि म्याद थप नभएको बताउँदै अध्यक्ष गुरुङले ठेकेदारले दुवैतर्फ पिलर मात्र ठड्याएर करिब रु दुई करोड निकासा लगिसकेका जानकारी दिए ।

प्रतिक्रिया