म्याग्दीमा मतदाता शिक्षा प्रभावकारी हुन सकेन

म्याग्दी । यही मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा तीनदेखि छ प्रतिशत मत बदर भएको छ । विसं २०७४ चुनावका तुलनामा बदर मतको दर घटे पनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ । समानुपातिक मतपत्र धेरै बदर भएको छ । प्रतिनिधिसभाको तुलनामा प्रदेशसभाको मत बदर कम छ ।
छयासी हजार एक सय २० जनामध्ये ५० हजार तीन सय ७८ अथवा ५८.७८ प्रतिशत मत खसेको थियो । कुल खसेको मत सङ्ख्या प्रतिनिधिसभाको समानुपातिकमा मात्र मतदान गरेका कर्मचारी, कारागारका कैदीबन्दी, ज्येष्ठ नागरिक र सुरक्षाकर्मीलगायत अस्थायी मतदाताको हो ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४९ हजार छ । ९९ मत खसेकामा ४७ हजार ६ सय १४ सदर र दुई हजार ८५ अथवा चार दशमलव ३७ प्रतिशत बदर भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए । प्रतिनिधिसभाको समानुपातिकमा ५० हजार तीन सय ७८ मत खसेकामा ४७ हजार तीन सय ३२ मत सदर र दुई हजार ६ सय ४६ अथवा ५।५९ प्रतिशत बदर भएको छ ।
सबैभन्दा धेरै प्रदेशसभाको समानुपातिकतर्फ ६.५८ प्रतिशत मत बदर भएको छ । ४९ हजार चार सय ५० मत खसेकामा ४६ हजार चार सय ८० मत सदर र तीन हजार ६० मत बदर भएको छ । प्रदेशसभाको क्षेत्र (१) मा २८ हजार सात सय आठ मत खसेकामा २७ हजार सात सय ४९ सदर र नौ सय ५९ अथवा ३.४५ प्रतिशत बदर भएको छ ।
प्रदेशसभा क्षेत्र (२) मा २१ हजार ९६ मत खसेकामा २० हजार दुई सय ६८ सदर र सात सय ४८ अथवा ३.६९ प्रतिशत बदर भएको छ । एउटै मतपत्रमा धेरै चिह्नमा छाप लगाएको, कुनै मतपत्रमा छाप नै नलगाई बाकसमा खसालेका, दुईवटा चिह्नको बीचमा छाप लगाएको, चिह्नको घेराभन्दा बाहिर संकेत गरेर धेरै मत बदर भएको छ ।
प्रत्यक्षतर्फको मतपत्रमा उम्मेदवार नभएको दलको चुनाव चिह्न थिएन । चारवटा मतपत्रमा छाप लगाउनुपर्नेमा केहीले दोस्रो, तेस्रो र चौथो मतपत्रमा संकेत गर्नुका साथै पहिलो मतपत्रमै चार ठाउँमा संकेत गरेका थिए । प्रत्यक्षतर्फको तुलनामा समानुपातिकको मतपत्रमा संकेत गर्दा मतदाताले बिगारेका गणनामा संलग्न कर्मचारीले बताएका छन् । मतदातामा शिक्षाको कमी, राजनीतिक दलहरुले चुनावी तालमेल गरे पनि मतदातालाई भोट हाल्ने तरिका सिकाउन बेवास्ता गर्नु र मतदाता शिक्षा कार्यक्रम सबै टोल बस्तीमा पुग्न नसकेले मत बदर बताइएको छ ।
प्रत्यक्षतर्फको प्रतिनिधिसभाको मतदान अधिकृतले हस्ताक्षर नगरेको एक सय २९ वटा मतपत्र भेटिएको थियो । तीनवटा मतदान केन्द्र रहेको मालिका गाउँपालिका-५ देवीस्थानको एक सय चार र रघुगङ्गा गाउँपालिका-५ झिको एकवटा मतदान केन्द्रको २५ वटा मतपत्रमा अधिकृतको हस्ताक्षर थिएन ।
यद्यपि गत वैशाख र २०७४ को तुलनामा पछिल्लो चुनावमा म्याग्दीमा बदर मतको दर कम देखिएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ८५ हजार तीन सय ७५ मतदाता रहेकामा ५४ हजार छ सय ७८ अथवा ६५.०२ प्रतिशत मत खसेको थियो । खसेकोमध्ये ९२.४३ प्रतिशत मत सदर र ७.५७ प्रतिशत बदर भएको थियो ।
विसं २०७४ को प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ७५ हजार पाँच सय ३७ मतदाता रहेकामा ४७ हजार चार सय ४९ मत खसेको थियो । समानुपातिकको प्रतिनिधिसभातर्फ ४० हजार पाँच सय २६ र प्रदेशसभामा ४२ हजार ६ सय १६ मत सदर भएको थियो । समानुपातिकको प्रतिनिधिसभातर्फ चार हजार ६ सय ८६ (९.८७ प्रतिशत) र प्रदेशसभातर्फ ६ हजार सात सय ७५ (१४.२७ प्रतिशत) मत बदर भएको थियो । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा दुई हजार दुई सय ८६ (४.८१) र दुईवटै प्रदेशसभामा एक हजार चार सय ८३ (३.१२) प्रतिशत मत बदर भएको थियो ।

प्रतिक्रिया