चीनमा विरोध प्रदर्शनको लहर, सरकारका लागि चुनौती

नेपालखोज २०७९ मंसिर १२ गते १२:०४

चीनमा कोभिड प्रतिबन्धलाई लिएर सरकार विरोधी प्रदर्शनको क्रम तीब्र भएको छ। यहाँ सम्म कि प्रदर्शनकारीहरुले चिनियाँ राष्ट्रपति सी जिनपिङको राजीनामा समेत मागिरहेका छन् । चीनमा राष्ट्रपति सी जिनपिङ तथा सरकार विरुद्ध यस किसिमको आक्रोश र विरोध यसअघि विरलै देखिएको थियो। सांघाई सहित चीनका अन्य सहरहरुमा हजारौं मानिसले सडकमा उत्रिएर आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । बीबीसीका अनुसार धेरै प्रदर्शनकारीलाई प्रहरीले गाडीमा हालेर लगेको थियो भने बेइजिङ तथा नान्जिङ विश्वविद्यालयका विद्यार्थीहरूले पनि कोभिड प्रतिबन्धविरुद्ध प्रदर्शन गरेका थिए ।

चीनको उत्तरपश्चिमी सहर उरुम्चीमा पनि प्रदर्शनहरू भएका छन् । त्यहाँ सहरमा लगाइएको लकडाउनका कारण टावरमा आगलागी हुँदा १० जनाको मृत्यु भएको प्रदर्शनकारीहरुको आरोप छ। सांघाई चीनको सबैभन्दा ठूलो आर्थिक केन्द्र हो। त्यहाँ पनि जनताले सडकमै ओर्लिएर विरोध गरेका छन् जसमा धेरैले ‘सी जिनपिङ, गद्दी छोड’, ‘कम्युनिष्ट पार्टी सत्ता छोड ’ को नारा लगाएका थिए । यहाँ केही व्यक्तिले मृतकहरुको सम्झनामा मैनबत्ती पनि बालेका थिए ।

चीनमा राष्ट्रपति सी जिनपिङ र कम्युनिष्ट पार्टीको विरुद्धमा नारा लगाउनु सामान्य कुरा होइन। चीनमा सरकार र राष्ट्रपतिको प्रत्यक्ष आलोचना गर्दा कडा कारबाही हुने खतरा छ । एक प्रदर्शनकारीले बीबीसीलाई बताए अनुसार सडकमा मानिसहरू देखेर उनि ‘आश्चर्यचकित र उत्साहित ‘ थिए। उनले चीनमा पहिलो पटक जनताको यति ठूलो असन्तुष्टि देखिएको बताए ।लकडाउनले आम चिनियाँ जनतालाई‘ दुःखी, रुस्ट तथा निराश ’ बनाएको उनको धारणा छ ।

चीनमा पछिल्ला केही महिनायता कोभिड – १९ को रोकथामका लागि कडा प्रतिबन्धहरू लागू गरिएको छ। जनताको मनमा निराशा र आक्रोश बढेको छ । चीनमा तीन वर्षसम्म आवतजावतमा प्रतिबन्ध लगाइएपछि लाखौं मानिस वाक्क – दिक्क भएका छन् । उनिहरुलाइ दैनिक कोभिड परीक्षणले पनि सताएको छ । त्यसैले क्रोधको यो लहर चीनको हरेक भागमा फैलिएको देखिन्छ।

यसको प्रभाव प्रमुख सहरदेखि सिनजियाङ र तिब्बतजस्ता दुर्गम क्षेत्रहरूमा सम्म प्रकट भएको छ । विश्वविद्यालयका विद्यार्थी, उद्योगधन्दादेखि लिएर आम नागरिकले सरकारको कोभिड नीतिप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् । सार्वजनिक आक्रोश बढ्दै जाँदा, कोभिड प्रतिबन्ध विरुद्ध प्रदर्शनको संख्या पनि बढ्दै गएको छ। हप्ताको अन्तिम दिनहरूमा सडकमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र सरकारको जनताले गर्ने आलोचना सामान्य देखिँदैन।

यसरी सयौं मानिस सडकमा उत्रीएर राष्ट्रपति सी जिनपिङलाई गद्दी त्याग्न भन्ने कुरा केही समयअघिसम्म कल्पना गर्न पनि गाह्रो थियो । बेइजिङ ब्रिजमा हालैको नाटकीय प्रदर्शनले धेरैलाई चकित बनाएकै हो । यसले चिनमा खुला र तीव्र आलोचनाको नयाँ लहर देखाउन थालेको छ । बिरोध प्रदर्शनमा सहभागी केहीले चिनियाँ झण्डा पनि बोकेका थिए ।

उनीहरु राष्ट्रिय गान गाउँदै थिए । चिनमा विषाक्त प्रदूषण वा जग्गाको अवैध कब्जा वा पुलिसको हातबाट समुदायका सदस्यहरूको उत्पीडन जस्ता विभिन्न मुद्दामा स्थानीय जनताले वर्षौं अघि देखि विरोध प्रदर्शन गर्दै आएका छन् तर यस पटकको आन्दोलन फरक छ । यतिबेला चीनका जनताको दिमागमा एउटै मुद्दा छ र मानिसहरूमा बेचैनी बढिरहेको छ। सरकारको ‘जिरो कोभिड नीति’ विरुद्ध व्यापक विरोध प्रदर्शन भएको छ । मानिसहरूले सामाजिक दूरी लागू गर्न लगाइएका प्रतिबन्धहरू तोडेका छन् ।

चिनमा कम्युनिष्ट पार्टी यस्तो राजनीतिक संगठन हो जसको सबैभन्दा ठूलो प्राथमिकता सत्तामा रहनु हो । यस्तो अवस्थामा यी प्रदर्शनहरू कम्युनिष्ट पार्टीका लागि ठूलो चुनौती बनेका छन् । सरकारले शून्य कोभिड नीतिको बढ्दो विरोधलाई बुझ्न नसकेको देखिन्छ। यो नीति राष्ट्रपति सी जिनपिङसँग जोडिएको छ। हालै मात्र जिनपिङले चीन यो नीतिबाट पछि नहट्ने कुरा बताएका थिए । यद्यपि अहिले चिनियाँ पार्टीले बिकसित भैरहेको परिस्थितिबाट बाहिर निस्कने कुनै सजिलो उपाय पाइरहेको छैन ।

चीन सरकारसँग लकडाउन हटाउन तीन वर्षको समय थियो तर थप अस्पताल र आईसीयू इकाइहरू निर्माण गर्ने अनि खोपको आवश्यकतामा जोड दिनुको सट्टा, चिनियाँ सरकारले ठूलो मात्रामा परीक्षण गर्ने , लकडाउन लगाउने , मानिसहरूलाई अलग राख्न ठूलो स्रोत लगानी गरेको छ। यसले गर्दा चिन अहिले ठुलो असन्तुष्टिको भुमरिमा फस्दै गएको छ ।

प्रतिक्रिया