भ्रष्टाचारको आरोपमा दुई मुद्दा

नेपालखोज २०७९ मंसिर १३ गते ७:४३

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगन्जस्थित नारायणी सिँचाई व्यवस्थापन डिभिजन नम्बर – ५, बहुअरीका तत्कालीन सीडीई मदन मोहन झासहित चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले झासहित तत्कालीन लेखा अधिकृत मुरारीप्रसाद आचार्य, जल उपभोक्ता संस्थाका अध्यक्ष कुसुम देवी कलवार, कोषाध्यक्ष राजकिशोर प्रसादसहित चार जनाविरुद्ध सोमवार विशेष अदालतमा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

ती पदाधिकारीहरूले उपभोक्ता संस्थालाई बदनियतपूर्वक काम नै नभएको अवस्थामा पनि झुट्टा बिल बनाई ५ लाख ६१ हजार ९५० रुपैयाँ भुक्तानी दिएको भन्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसै गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छाँयानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्वर सारुसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सारूसहित उक्त नगरपालिकाका लेखा अधिकृत लोकेन्द्र रावत र प्राविधिक सहायक उमाकान्त भण्डारीविरुद्ध अख्तियारले सोमवार विशेष अदालतमा सार्वजनिक सम्पत्ति हिनामिना तथा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा उक्त नगरपालिकाबाट सञ्चालित हिउँदे फलफूल बिरुवा स्याउ, दाँते ओखर, च्याउको बिउ तथा जैविक विषादी खरिद वितरण कार्यक्रममा लक्ष्य बमोजिमको बिरुवा नल्याई झुट्ठा बील भरपाई पेश गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

हिउँदे फलफूल विरुवालगायतका सामग्री वितरण कार्यक्रममा बिरुवा खरिद गर्दा वास्तविक लागेको रकमभन्दा बढीको झुट्टा बिल र बिरुवा ढुवानीवापत भुक्तानी दिएको भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख छ । त्यसबाहेक अर्को एक कार्यक्रममा १ लाख ६१ हजार रुपैयाँ हानीनोक्सानी गरिएको अभियोगपत्रमा उल्लेख छ ।

प्रतिक्रिया