३ प्रतिशत थ्रेस होल्डको कुरा : राष्ट्रिय दल नहुँदा के फरक पर्छ ?

काठमाडाैं । अहिले समानुपातिकमा तीन प्रतिशत ल्याउनु पर्ने अन्यथा राष्ट्रिय दल बन्न नसकिने कुराले निकै चर्चा पाएको छ । अहिलेसम्म नेकपा एमाले , नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र , राष्ट्रिय प्रजातन्त्र पार्टी , जनता समाजबादि पार्टी (जसपा ) ले ३ प्रतिशतको थ्रेस होल्ड पार गरि सकेका छन् ।
यसैगरी नयाँ उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी तथा जनमत पार्टीले पनि थ्रेस होल्ड कटाएका छन् । यसैपाली पहिलोपटक निर्वाचनमा होमिएका नेकपा एकीकृत समाजवादी , नागरिक उन्मुक्ति पार्टीका साथै पुरानो लोसपा भने थ्रेस होल्ड कटाउन संघर्ष गरिरहेका छन र उनिहरुको सम्भावना क्षीण हुँदै गएको छ । यद्यपि राष्ट्रिय दल बन्दा र नबन्दा फरक चाहिँ के पर्छ त ?
संविधानका जानकारहरु भन्छन् – राष्ट्रिय दल बन्दा र नबन्दा धेरै फरक चाहिँ पर्दैन । राष्ट्रिय दलले अर्को निर्वाचन सम्मका लागि आफ्नो चुनाव चिन्ह सुरक्षित गर्न पाउने कानुनी व्यवस्था छ।
संसद् सचिवालयले राष्ट्रिय दल नभए पनि दुई जना भन्दा बढि सांसद भएका दललाई संसदीय दलको कार्यालय सहितका सुविधा उपलब्ध गराउने चलन रहेको संसदसचिवालय सुत्र बताउँछ ।
दुई वटा सिट भएका दललाई समेत छुट्टै संसदीय दलको कार्यालय दिने गरिएको छ। १० भन्दा बढी सिट भएका दलले सचेतकका लागि सचिवालय र अन्य सुविधा प्राप्त गर्छन् । सङ्घीय संसद् सुविधा ऐनले राष्ट्रिय दल भएका र नभएका दलहरूलाई दिइने सुविधा लाई अलग गरेर छुट्टाएको छैन ।
राष्ट्रिय दल नभए पनि आफ्ना सांसदहरूलाई पार्टीले दलको ‘ह्वीप’ लगाउन सक्ने संसदीय नजिरबाट समेत स्थापित भैसकेको छ। यसअघि गण्डकी प्रदेशको प्रदेशसभाका सदस्य कृष्ण थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले ह्वीप उल्लङ्घन गरेको आरोपमा पदमुक्त गर्ने निर्णय गरेको थियो जसलाई सर्वोच्च अदालतले सदर गरिदिएको थियो।
प्रतिक्रिया