सुदूरपश्चिममा डेंगु संक्रमण घट्दो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा हालसम्म डेंगुले तीनजनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार डेंगुका कारण कैलालीमा दुई र अछाममा एकजनाको मृत्यु भएको हो । प्रदेशभर एक हजार दुई सय ७२ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
कैलालीमा चार सय ३०, कञ्चनपुरमा दुई सय १४, दार्चुलामा तीन सय ३२, डोटीमा ८४, बैतडीमा ७३, डडेल्धुरा र अछाममा ४०÷४०, बझाङमा ३३ र बाजुरामा २७ जनामा सङ्क्रमण देखिएको जोशीले बताए ।
लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमण पछिल्लो समय भने घट्दै गएको छ । गर्मी र वर्षातको समयमा संक्रमण बढी देखिएको भए पनि हाल भने बिरामीको सङ्ख्या घटेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दीपेश श्रेष्ठले जानकारी दिए । उनले भने, ‘वर्षातको समयमा दैनिक रुपमा बिरामी देखिने गरेकाले जोखिम निकै बढेको थियो, संक्रमितलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था पनि आयो । हाल भने त्यो जोखिम भने घटेको छ ।’
वर्षातमा दैनिक रुपमा डेंगुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेंगु संक्रमण फैलाउने लामखुट्टेको लार्भा भेटिएकाले पानी जम्ने ठाउँ पहिचान गरेर सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । -रासस

प्रतिक्रिया