पात्रो प्रकाशनलाई पञ्चांग निर्णायक समितिमा छलफल

नेपालखोज २०७९ मंसिर १३ गते १६:४५

काठमाडौं । विसं २०८० को पात्रो (पञ्चांग) प्रकाशनका लागि ग्रहगणितलाई अन्तिम रुप दिन छलफल सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा विसं २०८० का लागि पात्रो प्रकाशन गर्न स्वीकृतिका लागि १७ वटा निवेदन परेको छ । विसं २०८० को पञ्चाङ्ग प्रकाशन गर्न निवेदन दिन गत साउन महिनामा सूचना प्रकाशन गरी समितिले एक महिनाको समय दिएको थियो ।

समितिको सूचना अनुसार पुराना १४ पञ्चांग र नयाँ तीन गरी १७ वटा निवेदन प्राप्त भएको थियो । निवेदन दिने पात्रोका पञ्चाङ्गकारबीच आइतबारदेखि छलफल सुरु भएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले राससलाई जानकारी दिनुभयो । स्वीकृतिका लागि निवेदन दिने नयाँ पात्रोमा मुक्तिनाथ, नेपाल र ज्वाला पञ्चांग छन् । यी तीनवटै पञ्चांग यो वर्ष पनि समितिसँग स्वीकृति नलिइ प्रकाशनमा रहेका छन् ।

मुक्तिनाथ र नेपाल पञ्चांग विश्व पञ्चांग निर्णायक समितिका नाममा स्वीकृतिका लागि आएको कार्यकारी निर्देशक ढुङ्गेलले जानकारी दिए । विगतमा एकपटक समितिसँग स्वीकृति लिएर निस्किएको ज्वाला पञ्चाङ्ग केही समय भने स्वीकृति नलिइ प्रकाशनमा आएको थियो । ज्वालाले यसपटक फेरि स्वीकृतिका लागि निवेदन दिएको समितिले जनाएको छ ।

केही महिना प्राप्त निवेदनमाथि छलफल, चाडपर्वको निर्णय, ग्रहगणितको रुजु गरी प्रकाशनको स्वीकृति दिइने छ । पुससम्म सबै प्रक्रिया पूरा गरेर पात्रो प्रकाशनको स्वीकृति दिइसक्ने गरी समितिले तयारी गरेको उनले बताए । समितिको सङ्गठन तालिका निर्माण पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । केही हप्तामै यसले पूर्णता पाउने संस्कृति, पर्यटन तथा नागरिक उड्ययन र अर्थ मन्त्रालयले वचन दिएका छन् ।

समितिले कर्मचारी सेवा, शर्त र आर्थिक नियमावली पनि मस्यौदा गरी स्वीकृतिका लागि संस्कृति मन्त्रालयमा पठाउने तयारी गरेको छ । समितिको सङ्गठन तालिका, कर्मचारी सेवा, शर्त र आर्थिक नियमावली तयार भएपछि काममा सहज हुनेछ ।

समितिमा हाल पर्याप्त मात्रामा जनशक्तिको व्यवस्था नहुँदा गठन आदेशमा दिएका जिम्मेवारी पूरा गर्न समस्या भएको छ । गठन आदेशमा समितिलाई पात्रो र भित्तेपात्रो प्रकाशनको स्वीकृति दिने जिम्मेवारी दिइएको छ । सरकारले २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरेको थियो ।

प्रतिक्रिया