शुक्रबार, चैत १६, २०८०

दाङमा तोरी उत्पादन घट्दो क्रममा

नेपालखोज २०७९ मंसिर १३ गते २०:३०

दाङ । दाङमा पछिल्लो समय तोरी उत्पादन घट्दो क्रममा छ । किसानले खेतबारीमा प्रशस्त तोरी खेती गर्ने गरे पनि उत्पादन भने घट्दै गएको पाइएको छ । कुनै समय दाङको तोरी अन्य जिल्लामा बिक्री हुन्थ्यो । तर पछिल्लो समय दाङ तोरी उत्पादनमा परनिर्भर हुन थालेको छ । स्थानीयले तरकारीमा प्रयोग गर्ने तोरीको तेलको साटो सूर्यमुखी र स्वयबिनको तेल प्रयोग गर्न थालेको स्थानीय गीता विष्ट बताउँछन् ।

केही वर्षअघिसम्म तोरीकै तेलले वर्षभरि खान पुग्ने गरे पनि पछिल्लो समय घरको उत्पादनले नपुग्ने गरेपछि किन्न थालेको उनी बताउँछन् । ‘घरमा आफैँ खेती गर्दा वर्षभरि खाने तेल उत्पादन हुन्थ्यो तर अहिले आफूले खेती गर्दैनाै’, गीताले भन्नुभयो, “खेतबारी अधियालाई दिएपछि उत्पादन घटेको छ । खाने तेल बजारबाट किन्नुपर्छ ।’ किसानले खेतीमा मनतन लगाएर गर्न छोडेसँगै जिल्लामा तोरी उत्पादन घट्दै गएको तेल मिल सञ्चालक मोहन वलीले बताए । तोरी उत्पादन घटेसँगै तेल मिलसमेत विस्तारै विस्थापित हुने क्रम चलिरहेको उनी बताउँछन् ।

‘गाउँघरमा पहिले खेती हुँदा मिल चल्ने गरेका थिए तर अहिले उत्पादन कम हुँदै गएको छ’, उनले भने, ‘खेतीमा मन लगाउने र तेल बजारबाट किनेर ल्याउन थालेपछि समस्या भएको छ ।’ मिल व्यवसायी वलीका अनुसार हाल प्रतिलिटर तोरीको तेलको मूल्य करिब रु चार सयसम्म पुगेको छ । स्थानीयले सस्तो मूल्य खोज्ने भएका कारणले भारतको तेल बढी मात्रामा प्रयोग हुने गरेको छ । मिलमा तोरी पेल्न र तेल किन्न आउनेको सङ्ख्या घट्दै गएको उनको भनाइ छ ।

जिल्लामा करिब १७ हजार हेक्टरमा तोरी खेती हुने गरेको छ । तोरी उत्पादन घट्नुमा जग्गा प्लटिङ, प्राङ्गारिक मल र सिँचाइको समस्या मुख्य रहेको कृषि प्राविधिक माधव केसी बताउँछन् । दाङमा तोरी खेती गर्ने जग्गा प्लटिङ हुनु, माटो बिग्रिनु र असन्तुलित रासायनिक मलको प्रयोगले तोरीको उत्पादन बर्सेनि घट्दै गएको कृषि प्राविधिक केसीको भनाइ छ । तोरीको उत्पादन बढाउनका लागि केही गाउँपालिकामा तोरी जोन कार्यक्रम लागूभएसँगै स्थानीय निकायअन्तर्गत कृषि शाखा तथा अन्य सम्बन्धित कार्यालयले किसानलाई तोरी उत्पादन बढाउन उन्नत बिउ वितरण गर्दै आएका छन् ।

प्रतिक्रिया