शुक्रबार, वैशाख १४, २०८१

काठमाडौंमा घरका सदस्यलाई हातखुट्टा बाँधेर  ६ करोडको डकैती

नेपालखोज २०७९ मंसिर १४ गते २०:३३

काठमाडाैं । गत २८ कात्तिक साँझ ६:३० बजे वसुन्धराकी नन्दा मल्लको घरभित्र डकैतहरुको एउटा समूह प्रवेश गर्‍यो । उनीहरूले घरका सबै सदस्यलाई एकै कोठामा भेला गरेर डोरीले हातखुट्टा बाँधे अनि झन्डै साढे दुई घन्टा बन्धक बनाए  भने घरका दराज र लकर खाली गरे ।

त्यसपछि उनीहरु ६ करोड रुपैयाँ मूल्यबराबरको धनमाल लिएर फरार भए । प्रहरीका अनुसार हातहतियारसहितको उक्त समूहले ६ सय तोला सुन लुटेर लगेको थिय‍ो  । त्यसबाहेक चाँदी र हिरासहित २५ लाख रुपैयाँ नगद लुटिएको पीडित पक्षको उजुरीमा उल्लेख छ । प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त डकैती कालीकोटका कुर्मराज शाहीको योजनामा भएको रहस्याेद्घाटन भएको छ  ।

कुर्मराज नन्दाका ज्वाइँ हुन् र उनी हालसम्म प्रहरीको गिरफ्तारीमा परेका छैनन्  । जिल्ला प्रहरीपरिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले डकैतीको मुख्य योजनाकार नन्दाकै आफन्त रहेको बताएका छन् । ‘नन्दाको घरमा झन्डै ६ करोड मूल्य बराबरको सम्पत्ति डकैती गर्ने १० जना पक्राउ परेका छन् । डकैतीको मुख्य योजनाकार नन्दाकै नजिकको आफन्त भएको पाइएको छ ,’ मैनालीले भने ।

प्रहरीका अनुसार डकैतीका मुख्य योजनाकार कुर्मराजलाई नन्दाको घरभित्रका सूचना दिने काम भने सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ की १९ वर्षीया कविता बुढाले गरेकी थिइन् । कविता कुर्मराजकी भाइकी साली हुन् । उनी केही महिनायता नन्दाको घरमा घरेलु कामदारका रूपमा कार्यरत थिइन् । उनलाई कुर्मराजले नै नन्दाको घरमा घरेलु कामदारका रूपमा पठाएका थिए । कुर्मराजले भित्रका धनमाल तथा गरगहनाको अवस्थिति मात्र नभई परिवारका सदस्यको मनस्थितिका मसिना सूचनाहरु पनि कवितामार्फत नै संकलन गरेका थिए । सोही आधारमा उनले डकैतीको योजना बनाएको प्रहरीको भनाइ छ । 

प्रहरीले घटनामा संलग्न कविता, विशाल शाही, तिलकबहादुर शाही, सुवर्ण मगर, धनबहादुर शाही, पर्वराज सिंह, गंगबहादुर शाही, नेत्रबहादुर शाही, पञ्चबहादुर सिंह र दीपिका मल्ल शाहीलाई पक्राउ गरेको छ । दिपीका कुर्मराजकी श्रीमती हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरिसकेको । प्रहरीका अनुसार नन्दा तत्कालीन राजदरबार नारायणहिटीमा ‘हाउस मेड’ थिइन् ।

रानी कोमल शाहकी सुसारे नन्दालाई दरबारभित्रका चोटाकोठाहरु जाने छुट थियो  । सोही क्रममा उनले दरबारभित्रका बहुमूल्य गरगहना हात पारेकी थिइन् । गहना राख्न उनले घरमै दुइवटा लकर बनाएकी थिइन् । यसको सूचना उनका ज्वाइँ कुर्मराजलाई थियो । यद्यपि गहनाको अवस्थितिका सम्बन्धमा उनी जानकार थिएनन् । यसका लागि उनले सुर्खेत वीरेन्द्रनगरकी कविता बुढालाई घरेलु कामदारका रूपमा नन्दाको घर नियुक्त गर्न लगाए अनि उनैमार्फत गरगहनाको अवस्थितिलगायत सबै सूचना लिए ।

२८ कात्तिक साँझ ६ः३० बजे डकैत समूह वसुन्धरास्थित नन्दाको घरनजिक पुगे । कुर्मराज र कविताबीच मोबाइल फोनमा कुराकानी भएको थियो । घरका सबै सदस्य एउटै कोठामा रहेको मौकामा कविताले कुर्मराजसहितको टोलीलाई घरभित्र छिर्न गेट खोलिदिइन् । परिवारका सबैको हातखुट्टा बाँधियो । लकर र दराज खाली गरेर धनमाल लुटियो ।

प्रतिक्रिया