शुक्रबार, वैशाख १४, २०८१

युक्रेनमा यौनहिंसा हतियारको रूपमा प्रयोग भएको संकेत

नेपालखोज २०७९ मंसिर १५ गते १०:३८

काठमाडाैं । रुसले युक्रेनमाथि हमला सुरु गरेसँगै युक्रेनमा यौनहिंसाका घटना बढेको विभिन्न विवरण सार्वजनिक हुन थालेका छन् । किभको युद्ध अपराध अनुसन्धानमा सहयोग गर्ने एक अन्तर्राष्ट्रिय फौजदारी वकिलका अनुसार रुसी सेनाबाट युक्रेनमा व्यापक यौनहिंसाका घटना भएको र ‘केही अवस्थामा रुसी कमान्डरले नै यौनहिंसा गर्न उक्साएको र आदेश दिएको’ पाइएको छ । राजधानी किभ आसपासका केही क्षेत्रमा गरिएको अनुसन्धानमा केही यौनहिंसाका घटनामा रुसी सशस्त्र बल सांगठनिक रूपमा नै संलग्न रहेको अनुसन्धानमा संलग्न बेलायती वकिल वाइने जोर्डासले समाचार संस्था रोयटर्ससँग बताएका छन्।

रुसी सेनाको कब्जाबाट खोसेर फिर्ता गरिएका उत्तरपूर्वी र दक्षिणी युक्रेनका केही क्षेत्रमा अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले दुर्ब्यवहारको अभ्यास कत्तिको व्यापक थियो भन्ने निष्कर्षमा पुग्न हतार हुने युक्रेनलाई कानुनी विशेषज्ञता प्रदान गर्ने पश्चिम समर्थित टोलीका सदस्यसमेत रहेका जोर्डास बताउँछन् । यद्यपि, यौनहिंसाका घटनाको प्रकृति हेर्दा लामो समय रुसको नियन्त्रणमा रहेका क्षेत्रमा ‘बारम्बार यौनहिंसा भएको हुन सक्ने’ देखिएको उनको भनाइ छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले कानुन लागू गर्ने निकाय, चिकित्सक र वकिललगायत बलात्कारपीडित र तिनका परिवारका सदस्यसँग नजिक रहेर काम गरेका २० भन्दा बढी व्यक्तिको अन्तर्वार्ता लिएको र उनीहरूले युक्रेनका विभिन्न भागमा रुसी सशस्त्र बलद्वारा भएका यौनहिंसाको विवरण साझा गरेको जनाएको छ।

ती व्यक्तिले बलात्कार वा यौनहिंसा गर्दा परिवारका सदस्यलाई हेर्न बाध्य पारिएको, सामूहिक बलात्कार गरिएको र बन्दुक तेस्र्याएर यौन शोषण गरिएको विवरणहरू सुनाएको रोयटर्सले लेखेको छ। यसैगरी, संयुक्त राष्ट्रसंघको म्यान्डेट रहेको एउटा अनुसन्धान निकायले गत महिना प्रकाशित गरेको एउटा प्रतिवेदनमा केही परिस्थितिजन्य प्रमाण, पीडित र पीडितका परिवार सदस्यको भनाइ उद्धृत गर्दै युक्रेनमा रुसी सेनाबाट ४ देखि ८० वर्षसम्मका मानिस यौनहिंसामा परेको उल्लेख छ।

चेर्निभ जिल्ला अदालतका अनुसार उत्तरी युक्रेनको चेर्निभ क्षेत्रमा मार्चमा रुसको ८०औँ ट्यांक रेजिमेन्टका एक सिपाहीले एक युवतीसँग बारम्बार यौन दुर्ब्यवहार गरी उनको परिवारका सदस्यलाई मार्ने धम्की दिएका थिए। अदालतले यसै महिना ३१ वर्षीय रुस्लान कुलिएभ र अर्का एक रुसी सैनिकलाई स्थानीयमाथि कुटपिट गरेको आरोपमा दोषी ठहर गरेको छ।

जेनेभा महासन्धिअन्तर्गत सशस्त्र द्वन्द्वमा गरिएको बलात्कार युद्ध अपराध हो। कानुनविज्ञहरुका अनुसार व्यापक वा प्रणालीगत रूपमा भएका यौनहिंसालाई पनि मानवताविरुद्धकै अपराध मानिन्छ। युक्रेनमा ‘विशेष सैन्य कारबाही’ सञ्चालन गरिरहेको मस्कोले भने युद्ध अपराध वा नागरिक लक्षित हमलाको आरोप अस्वीकार गर्दैआएको छ ।

युक्रेनको महान्याधिवक्ताको कार्यालयले मस्कोको युक्रेनमाथिको युद्ध ‘युक्रेनी जनतालाई सखाप पार्ने उद्देश्य’ले गरिएको र यौनहिंसा ‘युक्रेनका जनतामा भय र आतंक फैलाउने’ रुसी अपराधमध्ये एक भएको आरोप लगाएको छ। राष्ट्रसंघले पनि युक्रेनमा यौनहिंसा युद्धको हतियारको रूपमा प्रयोग भएको संकेत पाइएको कुरा बताएको छ। ‘यौनहिंसा युद्धको हतियारका रूपमा प्रयोग भैरहेको संकेत पाइएका छन्,’ द्वन्द्वमा यौनहिंसा सम्बन्धि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि प्रमिला पट्टनले बलात्कार, सामूहिक बलात्कारजस्ता घटनाको विवरण उद्धृत गर्दै भनेकी छन्।

किभले रुसी सेनाका युद्ध अपराधको अनुसन्धानकै हिस्साका रूपमा दसौँ हजार प्रतिवेदन जाँच गरिरहेको जनाएको छ । उसअनुसार यौनहिंसा तीमध्ये एक सानो अंश मात्रै हो। ‘यौनहिंसा नियोजित थियो भन्ने प्रमाणले यो योजनाबद्ध आक्रमणको अंश भएको अथवा कमान्डरको केही तह यसबारे जानकार रहेको संकेत दिन्छ,’द्वन्द्वमा यौनहिंसासम्बन्धी आइसिसीका सल्लाहकार तथा सेन्ट लुइस विश्वविद्यालय वासिंगटनका प्राध्यापक किम थुई सिलिंगर बताउँछिन्।

किभनजिकैको बेरेस्तियान्का गाउँकी एउटी महिलाले मार्चमा रुसी सेना पुगेको केही समयपछि एक सिपाहीले उनलाई घरबाहिर सेतो झुत्रो झुन्ड्याउन आदेश दिएको रोयटर्ससँग बताएकी छन् । भिक्टोरिया नामकी ती ४२ वर्षे महिलाका अनुसार त्यस रात दुई रुसी सेनाले भिक्टोरिया र अर्की एक महिलालाई बलात्कार गरेका थिए। युक्रेनको महान्यायाधिवक्ताको कार्यालयले बेरेस्तियान्काका यी दुई महिलाविरुद्ध रुसी सेनाका सिपाहीले गरेको यौनहिंसाको अनुसन्धान भइरहेको जनाएको छ।

पोल्यान्डकी स्त्रीरोग विशेषज्ञ एग्निएस्का कुर्कजुकले पनि आफूले उपचार गरेका युक्रेनी शरणार्थीमध्ये एकले नौ वर्षीया छोरीका अगाडि आफू बलात्कृत भएकोे सुनाएको बताएकी छिन्। संयुक्त राष्ट्र संघका अनुसार मस्कोले युक्रेनमा फेब्रुअरी २४ मा हमला गरेपछि बलात्कार र यौनहिंसाका आरोप देशभरबाट आइरहेका छन्। तीमध्ये केही बलात्कारपीडितले पोल्यान्डमा उपचार गराएका छन्।

पोल्यान्डका स्त्रीरोग विशेषज्ञ राफल कुज्लिक र उनकी पत्नी डा. इवोना कुज्लिकले पनि रुसी सेनाबाट बलात्कृत भएका उत्तर र उत्तरपूर्वी युक्रेनका सात जना महिलाको उपचार गरेको बताएका छन्। युक्रेनी वकिल लारिसा डेनिसेन्कोले केही पीडितले परिवारको सदस्यकै अगाडि बलात्कृत भएको बताएको उल्लेख गरेकी छिन्। युक्रेनको महान्याधिवक्ताको कार्यालयले महिला, बालबालिका र पुरुषहरूसमेतविरुद्ध रुसी सशस्त्र बलका सदस्यले गरेको यौनहिंसासम्बन्धी दर्जनौँ आपराधिक मुद्दा दर्ता गरेको बताएको छ।
स्रोत : रोयटर्स

प्रतिक्रिया