मानिसको मस्तिष्कमा चिप लगाए पछि के होला ?

काठमाण्डौ । स्पेसएक्स, टेस्ला र ट्विटर आदि कम्पनीका मालिक एलन मस्क सधैं नयाँ प्रविधिमा चासो राख्छन्। मस्कको एउटा कम्पनी छ , जसले निकै जटिल प्रविधिमा काम गर्छ जुन न्युरालिंकको कुरा हो ।
न्युरल इन्टरफेस टेक्नोलोजीमा अगाडि बढिरहेको यो कम्पनीले हालै एउटा चिप तयार पारेको छ जसलाई मानिसको मस्तिष्कमा प्रत्यारोपण गर्न सकिन्छ । भनिन्छ यसले मानिसको अशक्तता हटाउन मद्दत गर्नेछ । विशेष कुरा के भने मस्क आफैँ यो चिप आफ्नो दिमागमा इन्स्टल गर्न चाहन्छन् ।
न्युरालिंकसँग सम्बन्धित एउटा भिडियो पनि सार्वजनिक भएको छ। जसमा एउटा बाँदर आफ्नो मस्तिष्कमा भएको चिपको सहायताले टाइप गरिरहेको छ। मस्कको कम्पनीले लामो समयदेखि यो प्रविधिमा काम गरिरहेको छ र लगभग सफलताको चरणमा छ ।
के हो न्युरालिंक चिप ?
यो आर्टिफिसियल इन्टेलिजेन्सबाट चल्ने माइक्रो चिप्स हो जसले मस्तिष्कको गतिविधिलाई रेकर्ड गर्न र पढ्न सक्छ। यसको सहयोगले मानिसको अपांगता हटाउन सहयोग पुग्नेछ।
यो चिपको सहायताले पक्षाघात भएका व्यक्तिले पनि आफ्नो दिमाग प्रयोग गरेर स्मार्टफोन प्रयोग गर्न सक्नेछन् । मस्तिष्कको मद्दतले प्रयोगकर्ताले हातले भन्दा छिटो फोन प्रयोग गर्न सक्नेछन्। मस्कले सन् २०१६ मा यस बिषयमा जानकारि दिएका थिए ।
यो चिपले के गर्न सक्छ ?
यो चिपले मानिसको दिमागमा आउने विचारहरु पढ्न सक्छ। जुन व्यक्तिको दिमागमा पनि यो चिप हुन्छ, त्यो व्यक्तिले केही नबोली मेसिनसँग कुरा गर्न सक्नेछ। हाल यसको मद्दतले प्रयोगकर्ताले स्मार्टफोन , कम्प्युटरजस्ता आधारभूत उपकरणहरु नियन्त्रण गर्न सक्छन्। मस्कले भनेका छन्, ‘ हामी यस बिषयमा धेरै होसियार हुन चाहन्छौँ र मानिसको मस्तिष्कमा यसलाई प्रत्यारोपण गर्नुअघि राम्रो सँग जाँच्न चाहन्छौँ।’
मस्कले अबको ६ महिनाभित्र सम्भवतः मानिसको मस्तिष्कमा न्युरालिंक इन्स्टल गर्न सक्ने बताएपछि संसारमा एककिसिमको हलचल नै आएको छ । कम्पनीका अनुसार यो प्रविधिले पक्षाघात, अन्धोपन, स्मरणशक्ति घट्ने तथा न्युरोसम्बन्धी समस्या भएका व्यक्तिलाई मद्दत गर्नेछ।
मस्क आफैले लगाउनेछन् यो चिप ?
मस्कले यसबिषयमा स्पष्ट रुपमा केही बताएका छैनन् तर चासो भने अवश्य देखाएका छन्। उनले एश्ली भान्सको एउटा ट्विटको जवाफमा आफ्नो मस्तिष्कमा यस्तो चिप प्रत्यारोपण गर्ने कुरा गरेका छन् ।
प्रयोगकर्ताले ट्विटरमा लेखेका छन्- ‘एलनले ब्रेन इम्प्लान्ट गर्ने वाचा गरेका छन् । उनले डेमोका क्रममा आफ्नो मस्तिष्कमा चिप प्रत्यारोपण गर्ने बताएका छन् । यो अन्तिम रुपमा तयार भैनसकेकाले उनले अहिले चिप प्रत्यारोपण गर्न सकेका छैनन्।’
एश्ली भान्सलाई जबाफ दिदै मस्कले लेखेका छन्- ‘ हो। ’ – एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया