बिहीबार, वैशाख १३, २०८१

४ महिनामा साढे चार करोडको तास आयात

नेपालखोज २०७९ मंसिर १८ गते १४:२२

काठमाडौं । उच्च आयातका कारण बजारमा तरलता अभाव भएकोभन्दै नेपाल राष्ट्र बैंकले विभिन्न बस्तु आयातमा कडाइ गर्दै आएको छ ।

राष्ट्र बैंकले पहिलो पटक पुस ५ गते प्रतितपत्र जारी गर्दा २० वटा वस्तुको आयातको १०० प्रतिशत तथा ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले आयातमा कडाइ गरेको बस्तुमध्ये तास पनि एक हो । राष्ट्र बैंकले बिलासिताको वस्तुका रुपमा आयात भइरहेको खेल्ने तासमा शत प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो । मार्जिनको व्यवस्थाले अपेक्षाअनुसार आयात नघटेपछि सरकारले वैशाख १३ गते राजपत्रमा सुचना प्रकाशित गर्दै यसको आयातमा प्रतिबन्ध लगाएको थियो ।

सरकारले विलासिताको वस्तुमा समावेश गरी प्रतिबन्ध गरेको तासको आयात भने रोकिएको देखिँदैन । सरकारी तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्षको चार महिनामा ४ करोड ५६ लाख २६ हजार रुपैयाँको २२ लाख ९६ हजार ५ सय ६१ पिस तास आयात भएको छ । उक्त आयातित तासबाट सरकारले २ करोड ८० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालले गत वर्षको चार महिनाको अवधिमा १३ करोड ७२ लाख ४ हजार रुपौयाँको ६८ लाख २२ हजार ४ सय ९ पिस तास आयात गरेको थियो जसबाट सरकारले ७ करोड १९ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

त्यस्तै, गत वर्ष २१ करोड ५४ लाख ४५ हजार रुपैयाँको १ करोड ९ लाख ६० हजार ५ सय ४७ पिस तास आयात भएको थियो भने त्यस बाट सरकारले ११ करोड ४४ लाख ५५ हजार रावस्व संकलन गरेको थियो । गत भदौ १४ गते यता भने सरकारले तास आयातमा लगाएको प्रतिबन्ध खुला गरेको छ ।

प्रतिक्रिया