बिहीबार, चैत १५, २०८०

चोरी सिकारीका कारण रेडपाण्डा जोगाउन समस्या

नेपालखोज २०७९ मंसिर १८ गते १८:३०

काठमाडाैं । विश्वमै दुर्लभ मानिएको जङ्गली जनावर रेडपाण्डा (हाब्रे) जोगाउन समस्या भएको छ । पश्चिम म्याग्दीको विभिन्न ठाउँमा पाइने रेडपाण्डा चोरी सिकारीका कारण जोगाउन समस्या भएको हो ।

धौलागिरि गाउँपालिकाको गुर्जा, मुदी र लुलाङका जङ्गलमा पाइने हलुका रातो, सेतो र कालो रङको रेडपाण्डा सिकारीको रोजाइँमा पर्ने गरेको छ । वन जङ्गलमा टुसा खोज्न जाने स्थानीयवासीले घरेलु हतियार प्रयोग गरेरसमेत रेडपाण्डा सिकार गर्ने गरेका छन् ।

पाँच वर्षअघि विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो । उक्त संरक्षण अभियानले दुई वर्षयता निरन्तरता पाउन नसक्दा चोरी सिकारी गर्ने क्रम बढेको स्थानीय जसवीर विकले बताए ।

रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ताले स्थानीयवासीलाई यसबारे जानकारी गराउनुको साथै वासस्थानसमेत देखाएपछि स्थानीयवासी यसको संरक्षणमा लागेका थिए । धौलागिरि गाउँपालिका–१ का वडाध्यक्ष झकप्रसाद छन्त्यालका अनुसार सिकारीले सिकार आरक्ष ढोरपाटनसँग सिमाना जोडिएका स्थानमा रतुवा, घोरल, मृग, बँदेलसहित लोपोन्मुख रेडपाण्डाको सिकार गर्ने गरेका छन् । ‘रेडपाण्डा संरक्षण समितिले नियमित गस्ती, जनचेतनामूलक कार्यक्रम, वासस्थान आसपासका क्षेत्रमा आवतजावतमा कडाइ गर्दै आएको थियो’, उनले भने ।

पश्चिम म्याग्दीका जङ्गलमा प्रारम्भिक अनुसन्धानमा पाँचवटा भेटिए पनि गाउँपालिकाअन्तर्गतमा सामुदायिक तथा राष्ट्रिय वनमा झण्डै २० रेडपाण्डा रहेको अनुमान गरिएको छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको छ ।

निगालोको टुसालाई आहाराको रुपमा प्रयोग गर्ने रेडपाण्डासहित अन्य वन्यजन्तुको तस्करी नियन्त्रणका लागि स्थानीयवासीलाई सहयोग गर्दैआएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम पुनले बताए । म्याग्दीका साथै नुवाकोट, रसुवा, धादिङ, लमजुङ, मनाङ, मुस्ताङ, बागलुङलगायत जिल्लामा रेडपाण्डाको बासस्थान रहेको अनुसन्धानकर्ता सरोज श्रेष्ठले बताए ।

प्रतिक्रिया