बिहीबार, चैत १५, २०८०

नबिल बैंकलाई भारतको एक्जिम बैंकको ‘व्यापार सहायता कार्यक्रम’ मा सदस्यता

नेपालखोज २०७९ मंसिर १८ गते २०:०५

काठमाडौं । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’ अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको जानकारी दिएको छ । एक्जिम बैंकबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो र एकमात्र बैंक हो ।

एक्जिम बैंकले सूक्ष्म जोखिम समीक्षापछि नबिल बैंकलाई व्यापार सहायता अन्तर्गत सदस्यता प्रदान गरेको हो । यो सम्झौताले नेपाल र भारतबीच बढ्दो व्यापारलाई सहज बनाउने, नेपाल र भारतबीचको बढ्दो आर्थिक संलग्नतालाई सुदृढ गर्ने, आयात निर्यातलाई सहजीकरण गरी अवसर खोल्ने नबिल बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो सुविधा अन्तर्गत एक्जिम बैंकले नबिल बैंकको भुक्तानी दायित्वको समर्थनमा भारतमा लेटर अफ क्रेडिट स्वीकार गर्न पेमेन्ट ग्यारेन्टी जारी गर्नेछ । यसले गर्दा पछिल्लो समयमा बढ्दै गएको वैदेशिक साख जोखिम र सिमित पहुँचलाई सहजीकरण गर्न टेवा पुग्नेछ र वित्तीय संस्थाहरुको क्षमता अभिवृद्धि गरी सीमापार व्यापारसम्बन्धी कारोबारहरुलाई सहज गर्ने छ ।

नेपालको व्यापारलाई अन्तर्राष्ट्रियकरण र सहजीकरणका लागि नबिल बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रयास गर्दै आएको छ। यस व्यापार सहायता कार्यक्रम अन्तर्गत एक्जिम बैंकसँगको नबिल बैंकको साझेदारीले नेपाली बैंकिङ क्षेत्रको अन्तर्राष्ट्रियकरणतर्फको कोशेढुंगा सावित हुने नबिल बैंकले जनाएको छ ।

एक्जिम बैंक आयात–निर्यात वित्तपोषणमा संलग्न संस्थाहरुको कामको समन्वय गर्ने भारत सरकारको मुख्य वित्तीय संस्था हो । भारतको अन्तर्राष्ट्रिय व्यापार र लगानीलाई प्रवद्र्धन, वित्तपोषण र सहजीकरण गरेर विश्व अर्थतन्त्रसँग भारतको पहुँच सहज बनाउन वर्षौंदेखि एक्जिम बैंकले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया