सातौं पर्वतीय महोत्सव पोखरामा

नेपालखोज २०७९ मंसिर १९ गते ६:४४

काठमाडाैं । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण संघले पोखरामा सातौं पर्वतीय महोत्सव गर्ने भएको छ । यहि मंसिर २४ र २५ मा पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा महोत्सव संचालन हुनेछ छ । संयुक्त राष्ट्र संघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवसका रुपमा मनाउँदै आएको छ । उक्त दिवसका अवसरमा संघले नेपालमा वर्सेनि महोत्सव आयोजित गर्छ ।

महोत्सवमा पर्वतीय वातावरण, जैवीक विधिता, प्राकृतिक स्रोत लगायतका विषयमा ज्ञान अभिवृद्धि गर्ने विषयलाई पनि जोड दिइने संघले जनाएको छ । पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्न स्टल पनि राखिने महोत्सवका मूल आयोजक समिति संयोजक संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले बताएका छन ।

‘पर्वतीय पर्यटन र पर्वतारोहण क्षेत्रको विगत, वर्तमान र भविष्यको सम्बन्धमा पर्वतारोहण क्षेत्रका विज्ञको उपस्थितिमा बृहत छलफल पनि हुनेछ,’ उनले बताए , ‘यसले पर्वतीय क्षेत्रमा बसोबास गर्ने स्थानीयको जीवनस्तर उकास्न पनि सहयोग गर्ने विश्वास लिएका छौं ।’ महोत्सवमा हिमाली क्षेत्रका परिकारसहित पर्वतीय क्षेत्रमा हुने खेललाई प्राथमिकतामा राखिएको छ । महोत्सवमा साइक्लिङ, सडक दौड, फिल्म प्रर्दशनी पनि हुनेछ ।

त्यस बाहेक महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको सहकार्यमा सगरमाथा आधार शिविर व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ भने पोखरामा पर्यटक वृद्धि गर्ने विषयमा पनि बहस हुनेछ । यसपल्टको अन्तर्राष्ट्रिय पर्वतीय दिवसको नारा ‘वुमन मुभ माउन्टेन’ छ । जसले पर्वतीय भेगमा बसोबास गर्ने बासिन्दाको आर्थिक तथा सामाजिकस्तर अभिवृद्धि गराउने मुख्य लक्ष्य राखेको छ ।

प्रतिक्रिया