समानुपातिक : १ करोड ४ लाख २० हजार मतगणना, खुम्चिए ठुला दल

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ४ लाख २० हजार १ सय २५ मतको गणना सम्पन्न भएको छ । समानुपातिकतर्फ अब थोरै मत मात्र गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
अघिल्लो निर्वाचनको तुलनामा यसपटक मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले तथा माओवादी केन्द्रको समानुपातिकतर्फको मत घटेको छ । समानुपातिकतर्फ एमालेले २७ लाख ८८ हजार मत ल्याएको छ भने ५ वर्षअघि एमालेले ३४ लाख ३८ हजार मत ल्याएको थियो । यस्तै नेपाली कांग्रेसले ५ वर्षअघि ३४ लाख १४ हजार मत ल्याएकोमा यसपालि २६ लाख ६० हजार मत ल्याएको छ ।
माओवादीले केन्द्रले यसपालि ११ लाख ६२ हजार मत ल्याएको छ । ५ वर्षअघि माओवादीले समानुपातिकतर्फ १४ लाख २२ हजार मत ल्याएको थियो । ठुला पार्टीको मत घट्दा नयाँ पार्टीले भने उल्लेख्य मत ल्याएका छन् । यश पटक राष्ट्रिय स्वतन्त्र पार्टीको ११ लाख २४ हजार, राप्रपाको ५ लाख ८६ हजार, जसपाको ४ लाख २० हजार र जनमत पार्टीको ३ लाख ९४ हजार मत आएको छ ।
त्यस्तै, एकीकृत समाजवादीले २ लाख ९४ हजार तथा नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार मत ल्याएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १ लाख ६७ हजार ल्याएका छन् भने अन्य पार्टीले एक लाख मत पनि कटाउन सकेका छैनन् ।
अहिलेसम्मको मतपरिणामले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी तथा जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएका छन् ।
प्रतिक्रिया