शुक्रबार, चैत १६, २०८०

पेनाल्टी सुट आउटमा जापानलाई हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा

नेपालखोज २०७९ मंसिर २० गते ७:५२

काठमाडाैं । जापानलाई पेनाल्टी सुट आउटमा हराउँदै साविक उपविजेता क्रोएसिया फिफा विश्वकप – २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ । अल जानोब रंगशालामा सम्पन्न प्रीक्वाटरफाइनलको निर्धारित र अतिरिक्त समय १ – १ गोलको बराबरीमा सकिएको खेलको पेनाल्टी सुटआउटमा ३ – १ क‍ो नतिजा निकाल्दै क्रोएसिया क्वार्टरफाइनलमा पुगेको हो ।

उक्त खेलको ४३औं मिनेटमा जावानका डाइजेन माइदाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए भने इभान पेरिसिचले ५५ औं मिनेटमा क्रोएसियाका लागि बराबरी गोल फर्काएका थिए । पेनाल्टी सुटआउटमा क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले ३ वटा प्रहार बचाएका थिए ।

जारी विश्वकपक‍ो नकआउट चरण सुरु भएसँगै पेनाल्टी शुटआउटबाट नतिजा छिनोफानो भएको यो पहिलो खेल हो । सन् २०१८ को उपविजेता क्रोएसिया यससँगै तेस्रो पटक विश्वकपको क्वार्टरफाइनल पुगेको छ भने समूह चरणमा विश्वकपको पूर्व विजेता जर्मनी तथा स्पेनलाई हराउँदै सनसनी मच्चाएको जापानले क्रोएसियाविरुद्ध अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा बराबरी गोल बेहोर्‍यो ।

त्यसपछि खेलमा दुवै टोलीले गोल गर्ने प्रयास गरे पनि सफल भएनन् । दुवै टिमका गोलकिपरले केही राम्रा बचाउ पनि गरे ।

प्रतिक्रिया