बिहीबार, वैशाख ६, २०८१

सुधारिँदै भीम अस्पतालको स्वास्थ्य सेवा

नेपालखोज २०७९ मंसिर २२ गते ११:५६

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पतालको सेवामा उल्लेखनीय सुधार देखिएको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदन्ड (एमएसएस) को लागि गठित समितिको एक वर्षको अवधिमा विभिन्न सूचाङ्कको आधारमा गरिएको मूल्याङ्कनबाट अस्पतालको सेवा प्रवाहको गुणस्तरीयतामा उल्लेखनीय सुधार देखिएको हो । एमएसएसले सरकारी अस्पतालको गुणस्तरीयता मापन गर्ने गर्दछ । भैरहवामा सार्वजनिक गरिएको तथ्याङ्कमा भीम अस्पतालको सेवा प्रवाहको गुणस्तरीयता अब्बल देखाइएको हो

स्वास्थ्य मन्त्रालयले ५० शय्या क्षमता भएका अस्पताललाई क वर्गमा स्तरीकरण गरी प्रदेश सरकार मातहत राख्ने गरेको छ । सोहीअनुसार क वर्गमा रहेका लुम्बिनी प्रदेशका १२ अस्पतालमध्ये भीम अस्पताल एमएसएसको मूल्याङ्कनमा दोस्रो नम्बरमा परेको हो । एमएसएस मूल्याङ्कन समितिका संयोजकसमेत रहेका स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डा विनोद गिरीले भन्नुभयो, “भीम अस्पतालले विगत एक वर्षको तुलनामा आफूलाई अत्यन्तै सुधारेको एमएसएसबाट देखिएको छ ।”

एमएसएस लुम्बिनी प्रदेशका फोकल पर्सन कौशल भन्डारीका अनुसार लुम्बिनी प्रदेशमा एमएसएस मूल्याङ्कनको सय अङ्कमा ९५ अङ्क प्राप्त गरी बर्दिया अस्पताल पहिलो, ८८ अङ्क प्राप्त गरी भीम अस्पताल दोस्रो भएका हुन् । यसैगरी नेपालभरीका क वर्गका अस्पतालको मूल्याङ्कनमा भीम अस्पताल पाँचौँ भएको छ । एक वर्ष अगाडिसम्म एमएसएसमा ५६ अङ्क प्राप्त गरेको यस अस्पतालले एक वर्षमा आफूलाई सुधारेर ८८ अङ्कमा पु¥याउनुमा सबै पक्षीय सहयोग र सहकार्यले सम्भव भएको अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताउनुभयो ।

विसं १९९० मा स्थापना भएको भीम अस्पताल यस क्षेत्रकै पुरानो अस्पताल हो । दक्ष जनशक्तिको अभावबीच पनि अस्पतालको सेवामा उल्लेख्य सुधार हुनु सकारात्मक रहेको जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईँले बताउनुभयो । उहाँले भन्नुभयो, “दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक, कर्मचारी नहुँदा पनि अस्पतालले सेवाको गुणस्तरीयता र अन्य क्षेत्रमा गरेको प्रगतिले राम्रो सन्देश दिएको छ ।”

अस्पतालको सेवामा अझै पनि क्लिनिकल सेवामा अल्ट्रासाउन्ड र रेडियोलोजी सेवा प्रवाहमा कमजोरी देखिएको छ भने अन्य सेवामा राम्रो सेवा देखिएको छ । वर्षमा एक लाख सेवाग्राहीले स्वास्थ्य सेवा लिने गरेको यस अस्पतालले सात वटा ओपिडी सेवासहित २४ घन्टा चिकित्सकीय सेवा प्रदान गरिरहेको अस्पतालको मेडिकल सुपरिटेन्डेट डा सकुन्तला गुप्ताले बताउनुभयो ।

भीम अस्पताललाई आगामी वर्ष एमएसएसको मूल्याङ्कनमा एक नम्बर श्रेणीमा पु¥याउन आवश्यक सबै किसिमको सहयोग गर्ने सिद्धार्थनगरका प्रमुख ईस्तियाक अहमद खानले बताउनुभयो । “हाम्रो नगरका लागि यो अस्पताल सबैभन्दा भरपर्दो स्वास्थ्य सेवा प्रदायक संस्था बनाउन जे सहयोग गर्न पर्छ हामी तयार छौँ”, उहाँले भन्नुभयो, “विस्तृत योजना हामीलाई दिनुहोस् आवश्यक बजेटको व्यवस्थापन हामी गर्छौं । अहिले जुन गतिमा प्रगति भइरहेको छ त्यो राम्रो छ ।” लुम्बिनी प्रदेशका अस्पतालको मूल्याङ्कन गर्दा भीमले गरेको कार्य प्रशंसनीय नै रहेको स्वास्थ्य निर्देशनालयको इम्प्लिमेन्टेशन अफीसर विनिता काफ्लेले बताउनुभयो ।

पर्याप्त दक्ष जनशक्ति अभाव हुँदा पनि यस अस्पतालको सेवा प्रवाह राम्रो देखिएको न्यूनतम मापदण्ड मूल्याङ्कन समितिको प्रतिवेदनमा उल्लेख छ । हाल अस्पतालमा १० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि दुई जना मात्रै कार्यरत रहेको अस्पतालको मेसु डा गुप्ताले बताउनुभयो । उहाँका अनुसार नौ जना नेपाल सरकारको छात्रावृत्तिबाट आएका र एकजना विकास समितिमार्फत काम गरिरहनु भएको छ ।

स्वीकृत दरवन्दीअनुसारको दक्ष चिकित्सक र कर्मचारीको लागि बारम्बार पहल गरिएको डा गुप्ताले बताउनुभयो । “भन्न पर्ने सबै ठाउँमा भनेका छौँ, तर जनशक्ति पठाइएको छैन”, उहाँले भन्नुभयो, “हामी जति जना छौँ त्यतिले सकेको समय दिएर सेवा पु¥याएका छौँ।” उक्त अस्पतालमा यसैगरी १४ जना मेडिकल अफिसरको दरबन्दी रहेकोमा चार जना नेपाल सरकारबाट प्राप्त भएको छ । आठ जना छात्रावृत्तिका मेडिकल अफिसरले सेवा दिइरहेका छन् । यसैगरी नर्सिंङ स्टाफमा पनि ४६ जनाको दरबन्दी रहेकोमा सात जना मात्रै नेपाल सरकारबाट खटाइएको छ । बाँकी २१ जना छात्रावृत्तिमा र छ जना विकास समितिबाट राखिएको छ । यसैगरी पारामेडिक्समा १३ जनाको दरबन्दी रहेकोमा तीन जना मात्रै खटाइएको भने चार जना विकास समितीबाट कार्यरत रहेका छन् । जिल्लाको धकधई, मर्चवार, लुम्बिनी, कपिलवस्तु, परासी, सिद्धार्थनगर, मायादेवि, सियारीलगायत ग्रामीण क्षेत्रका जनता स्वास्थय सेवा लिन आउने गर्दछन् ।

प्रतिक्रिया