शनिबार, जेठ ४, २०८२

चुनावमा सबैभन्दा बढी खर्च गर्ने देश ?

नेपालखोज २०७९ मंसिर २२ गते १२:१८

काठमाडौं । नेपालमा भर्खरै महानिर्वाचन सम्पन्न भएको छ । यो चुनाबका लागि सरकारले पहिले नै ७ अर्ब ७२ करोड खर्च दिने सहमति गरिसकेको छ । यसमा हुने थपघट रकमको हिसाब निस्कन केही समय कुर्नुपर्नेछ । त्यस बाहेक दलहरु तथा तिनका उम्मेदवारहरुले गर्ने खर्च अलग छ । स्वतन्त्र उम्मेदवारले गर्ने वा समर्थकहरुले गर्ने ब्यक्तिगत तथा संस्थागत खर्चको हिसाब अझ अलग छ । त्यसै पनि नेपालमा चुनाव खर्च महगो हुँदै गएको हामी सबैले महसुस गरेका छौं । निर्वाचन आयोगले खर्च सिमा तोकेर वा आचारसंहिता लगाएर नियन्त्रण गर्न खोजे पनि त्यस्तो सिमा लाई धेरैले नाघेका छन । जे होस निर्वाचन खर्च अहिले सबैका लागि धान्न गारो बिषय बन्दैछ । यद्यपि चुनाव खर्च नेपालमा मात्र महगो भएको होइन ।

हाम्रो छिमेकी मुलुक भारत कै कुरा गर्ने हो भने त्यहाँ लोकसभा चुनाव होस् वा विधान सभा वा स्थानीय निकायको चुनाव नै किन नहोस जथाभावी खर्च गर्ने प्रवृत्ति बढदै गएको छ । २०१९ को लोकसभा निर्वाचन भारतको इतिहासमा सबैभन्दा महँगो निर्वाचन भएको केही मानिसहरूको विश्वास छ।

निजी संस्था सेन्टर फर मिडिया स्टडिजका अनुसार उक्त निर्वाचनमा त्यतिबेला १४ अर्बभन्दा अलि बढी खर्च भएको थियो । सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्स (सीआरपी) नामक एक स्वतन्त्र अनुसन्धान निकायको अनुमान अनुसार अमेरिकामा २०१६ मा भएको चुनावमा पनि ८ बिलियन डलर खर्च भएको थियो । यसैगरी अमेरिकामा सन् २०२० मा भएको चुनावमा १६ अर्ब डलरभन्दा बढी खर्च भएको थियो। सम्भवत: त्यो संसारकै सबैभन्दा महँगो चुनाव थियो ।

सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्स (सीआरपी) जुन एउटा स्वतन्त्र अनुसन्धान संस्था हो ले अमेरिकामा सन् २०२२ को मध्यावधि चुनावमा करिब ९ अर्ब डलर खर्च भएको अनुमान गरेको थियो । त्यसमध्ये जर्जियाको सिनेट सिटको चुनाव सबैभन्दा महँगो थियो जहाँ ४ सय मिलियन डलर भन्दा बढी खर्च भएको थियो।

सन् २०२२ मा ब्राजिलमा भएको निर्वाचनमा स्थानीय मुद्रा रेइसमा १२.६ बिलियन खर्च भएको थियो, जुन करिब २.४ बिलियन डलर बराबर हो।

तुलनात्मक रुपमा धेरै धनी देशहरूमा चुनावी प्रचार खर्च त्यति बढि हुँदैन। उदाहरणका लागि, बेलायतमा २०१९ को संसदीय चुनावमा एक महिना मात्र चुनावि अभियान चलेको थियो र उम्मेदवारहरूले गर्ने खर्चमा कडा नियन्त्रण गरिएको थियो। बेलायतको निर्वाचन आयोगका अनुसार २०१९ को चुनावमा करिब ५६ मिलियन पाउण्ड अर्थात करिब ६८ मिलियन डलर खर्च भएको थियो ।

फ्रान्सको चुनावी खर्चमा पनि कडा नियन्त्रण छ। सरकारी तथ्याङ्क अनुसार २०२२ मा भएको राष्ट्रपतीय निर्वाचनमा सबै उम्मेदवारले जम्मा ८३ मिलियन युरो वा करिब ८८ मिलियन डलर खर्च गरेका थिए जसमा राष्ट्रपति इमानुएल म्याक्रोनले सबैभन्दा बढी १६.७ मिलियन युरो खर्च गरे । ( रोयटर्स )

प्रतिक्रिया