बिहीबार, जेठ २, २०८२

आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवर्द्धन आवश्यक : राष्ट्रपति

नेपालखोज २०७९ मंसिर २३ गते १९:०७

काठमाडाै‌ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली हस्तकलाको प्रवद्र्धनमार्फत स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणमा जोड दिएकी छन् । नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै उनले आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवद्र्धन आवश्यक रहेको बताए ।

राष्ट्रपति भण्डारीले नेपाली हस्तकला तुलनात्मक लाभको रूपमा रहनुका साथै नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रियरूपमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् । उनले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा उत्पादित सामग्रीको निर्यात प्रवद्र्र्धन गर्न सकेमात्र मुलुकको चुलिँदो व्यापार घाटा कम गर्न सकिने धारणा व्यक्त गरे । मेलाले उत्पादन र उपभोक्तालाई आपसमा जोड्नुका साथै नेपाली मौलिक हस्तकलाको प्रवद्र्धनमा टेवा पुग्ने उल्लेख गर्दै उनले देशको सामुदायिक एवं सांस्कृतिक विविधतालाई समेटी नेपाली हस्तकलाका सामग्रीलाई व्यापक विस्तार गरिनुपर्नेमा जोड दिइन् ।

हस्तकलाका सामग्रीसहित स्वदेशी उत्पादन प्रोत्साहनका लागि सरकारले विशेष प्राथमिकता दिएको भन्दै राष्ट्रपति भण्डारीले यसबाट स्वदेशी हस्तकलालगायत उद्योगको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हस्तकलाको निर्यात प्रवद्र्धन गरी बढ्दो व्यापारघाटा न्यूनीकरण गरिनुपर्नेमा जोड दिइन् । उनले नेपाली मौलिक हस्तकलामार्फत पर्यटन प्रवद्र्धनका योजनाबद्ध कार्यक्रम ल्याइनुपर्ने धारणा राखे ।

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हस्तकलाको प्रवद्र्धन विकास गर्न महासङ्घले खेलेको भूमिकाको सराहना गर्दै नेपाली हस्तकलासम्बन्धी नीतिगत सुधार र नेपाली उत्पादनको उपभोग बढाउन जरुरी रहेको बताए । महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले नेपालको मौलिक व्यवसायको प्रवद्र्धनका लागि लामो समयदेखि मेलाको आयोजना गरिँदै आएको जानकारी दिए ।

प्रतिक्रिया