नेदरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौं । विश्वकप फुटबल – २०२२ अन्तर्गत शुक्रबार राति सम्पन्न दोस्रो क्वार्टरफाइनलको निर्णय पनि पेनाल्टी सुटआउट मार्फत भएको छ जसमा नेदरल्यान्डलाई हराउँदै अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियासँगको भेट पक्का गरेको छ । लुसैल रंगशालामा खेलाइएको निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएको थियो भने थपिएको अतिरिक्त ३० मिनेटमा दुबै देसबाट कुनै गोल हुन नसके पछि खेल टाइब्रेकरमा पुगेको थियो ।
इन्ज्युरी समयको अन्तिम केही सेकेन्डमा नेदरल्यान्डलाई रोक्न नसक्दा अर्जेन्टिनाले निर्धारित समयको खेलमा कुनै नतिजा निकाल्न सकेन । खेलको ३५ औँ मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने ७३ औँ मिनेटमा कप्तान मेस्सीले पेनाल्टीमा अर्जेन्टिनाको अग्रता दोब्बर तुल्याए । यद्यपि नेदरल्यान्ड अन्तिम १० मिनेटमा खेललाइ अतिरिक्त समयमा धकेल्न सफल भयो । नेदरल्याण्ड्सका लागि दुवै गोल ओउट वेग्होस्र्टले गरेका थिए ।
८३औँ मिनेटमा पहिलो गोल गरेको नेदरल्यान्ड्सले इन्जुरीबापत थपिएको १० मिनेटको अन्तिम समयमा दोस्रो गोल फर्काएर खेल बराबरीमा पुर्याएको हो । टाइब्रेकरमा अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले सुरुका दुई प्रहार रोकेका थिए । अर्जेन्टिनाको चौथो प्रहार बिफल हुँदा सम्म नेदरल्यान्ड्सको सम्भावना कायमै थियो । यद्यपि पाचौँ प्रहारमा लौतारो मार्टिनेजले अर्जेन्टिनालाई सफलता दिलाउन कुनै गल्ती गरेनन् । टाइब्रेकरमा अर्जेन्टिनाको पहिलो प्रहार मेस्सीले गरेका थिए ।
प्रतियोगितामा मेस्सीको गोल संख्या ४ पुगेको छ । उनी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी बाटिस्टुटाको १० गोलको कीर्तिमानसँग बराबरी गर्न सफल भएका छन् । अब अर्जेन्टिनाले सेमिफाइनलमा शुक्रबार नै सम्पन्न पहिलो क्वार्टरफाइनलको बिजेता क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल मंसिर २७ गते मंगलबार राति १२ : ४५ बजे प्रारम्भ हुने कार्यक्रम छ ।

प्रतिक्रिया