भेडाच्याङ्ग्राको गोठ सार्दै पशुपालक

नेपालखोज २०७९ मंसिर २४ गते १२:३२

मनाङ । ‘चिसो बढ्दै गएको छ । जाडो बढ्दै गएपछि गाउँ रित्तिँदैछ । चिसोमा भेडाच्याङ्ग्राको पाठापाठी र चौरीको बाच्छाबाच्छी बचाउनै मुस्किल हुन्छ,’ हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिका-१ पिसाङका ७४ वर्षीय पशुपालक किसान याङदुङ गुरुङ भने । ‘पानी जम्दैछ । लेकमा बस्न सकिँदैन । लेकमा घाँस पनि सकिन थाल्यो । लेकबाट बेँसी झारेर बचाउन लागिरहेको छु,’ उनी भने, ‘यी पशुको माया लाग्छ, छोडेर कहीँ जान सक्दिन । यिनैको मायाले यही पानी तताएर खुवाउँदै बसेको छु ।’ भेडाच्याङ्ग्रा र चौँरीसहित गोठाला बेँसी झरिसकेका उनी बताए ।

उनी भन्नुहुन्छ, ‘पानी प¥यो भने अब माथि मात्रै होइन यहाँ पनि हिउँ पर्छ । माथि चिसो भएपछि यहाँ झरेका हौँ । यहाँ पनि चिसो बढ्दैछ । अब बेँसीमै बस्ने हो । अब एक सातामा सबै तल झर्छन् । भेडाका पाठा कठ्याङ्ग्रिन थालेपछि तल झरेका छौँ ।’ उनको गोठमा अहिले ६५ चौँरीलगायत भेडाच्याङ्ग्रा गरी ७० पशु रहेका छन् । नार्पाभूमि गाउँपालिकाका निवर्तमान अध्यक्ष मिङ्मार छिरिङ लामा भने, ‘वस्तुभाउको व्यवस्थापन गरेर गाउँबाट बेँसी झर्छन् यहाँका स्थानीयवासी । अबको एक सातामा पूरै गाउँ रित्तिन्छ ।’

जाडोमा गहुँ, फापरका नल खुवाएर राखिने गरिएको उनी बताउछन् । मनाङका अधिकांश स्थानीयवासी पशुपालनमा आबद्ध छन् । त्यसले गर्दा उनीहरू वर्षमा दुई पटक लेकबेँसी गर्ने गर्छन् । बर्सातको समय लेक र हिउँदको समय बेँसी झर्ने उनीहरुको परम्परा जस्तै हो । उनले अब चैत पहिलो साता मात्रै लेक चढ्ने बताए ।

‘हामीले हिमलुङ हिमालको फेदी, आइसलेक, नाम्के लेकको फेदीसम्म चौँरी, भेडाच्याङ्ग्रा चराउन लैजाने गरेका छौँ । अहिले त त्यो क्षेत्रमा हिउँ परेको छ, त्यहाँ बस्न सकिन्न, भेडाच्याङ्ग्रा राख्न पनि सकिन्न,’ उनले भने, ‘अब चैत महिनासम्म यहीँ हुन्छौँ, सुकेका घाँस खुवाएर राख्छौँ ।’

उनले पुस र माघ दुई महिना भेडीगोठ गाउँ नजिकै राखिने र फागुन लागेपछि गाउँभन्दा माथिका खर्कमा लैजाने बताए । लेकमा बस्न घाँस पनि सकिएको उनको भनाइ छ । उनले पानी नपरे पनि गोठ नै पुरिने गरी तुसारो परेपछि पशुपालक बेँसी झरेका बताए । ‘अहिले छिट्टै चिसो बढ्यो । पहिले पुस लाग्दा बल्ल गाउँ झरिन्थ्यो, अहिले पुस लाग्न १०/१२ दिन छँदै सबै गोठाला बेँसी झरिसकेका छन् । चिसोले भेडाच्याङ्ग्रा, चौँरी बिरामी पर्न थाले । गोठाला पनि बिरामी हुन लागेपछि हामी सबै तल झरेका छौँ, उनले भने ।

मनाङका पशुपालक किसानले अहिले पनि पुख्र्यौली पेसा अँगाल्दै आएका छन् । यहाँ उत्पादन हुने पशुचौपाय जिल्लामा नै खपत हुने गरेको किसान याङदुङ बताए । केही युवा पुस्ता यसै पेसामा आबद्ध रहेको उनी बताए । भेडापालनका लागि पर्याप्त चरन क्षेत्र भए पनि युवापुस्ता यो व्यवसायभन्दा पर्यटन व्यवसायतर्फ आकर्षित भएको उको भनाइ छ ।

‘पहिलेपहिले गाउँका धेरै मान्छेले भेडाच्याङ्ग्रा र चौँरी पाल्ने गर्थे । लेकतिर जाँदा पनि रमाइलो हुन्थ्यो । सबै एकैपटक जान्थ्यौँ । नजिक नजिक गोठ बनाएर बस्ने गथ्र्यौं । अहिले हरेक वर्ष गोठाला घट्दै गएका छन्,’ उनी भने, ‘पुराना बूढापाका नसक्ने भए । युवा पर्यटन व्यवसायतर्फ लाग्न थालेपछि पशुपालन कम भएका छन् ।’

उनले अरु व्यवसायको तुलनामा पशुपालन निकै चुनौतीपूर्ण भएकाले अहिलेका युवा गोठमा नबस्ने र पशुचौपाया पाल्नतिर चासो नदिने बताए । देशैभर चिसो बढ्ने क्रममा छ । चिसो बढेसँगै हिमाली जिल्ला मनाङका किसान तथा स्थानीयवासीलाई जीवनयापनमा सकस हुने गर्दछ । -रासस

प्रतिक्रिया