कर्मचारीलाई सहरी मन्त्री चौधरीको प्रश्न, काममा ढिलाई गर्दा कमिसन बढ्छ ?

नेपालखोज २०७९ मंसिर २५ गते १३:५६

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणाधिन सरकारी संरचनामा भइरहेको ढिलाईप्रति गम्भीर असंतुष्टी जनाएका छन् । मन्त्रालय सम्हाले लगत्तै खासगरि उपत्यका भित्र निर्माणाधीन ठुला संरचनाहरुको एकसरो अनुगमन गरेका सहरी मन्त्री चौधरीले पुनः तीनै संंरचनाहरुको अनुगमण सुरु गरेका छन् ।

शनिबार भैंसेपाटीमा निर्माणाधीन संघीय मन्त्री, सभामुख, मूख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरुको स्थलगत निरिक्षण लगत्तै मन्त्री चौधरीले संबन्धित विभाग, ठेकेदार कम्पनिसँग छलफल गरेका छन् । ‘काममा किन ढिलाई भइरहेको छ ? पाँच महिना पछि आउँदा पनि अवस्था किन उस्तै छ ? ढिलाई गर्दा कमिसन बढ्छ ?’ मन्त्रीको प्रश्न सुनेर मुखामखु गरेका कर्मचारीले कोभिडका कारण ढिलाई भएको बताएका थिए ।

‘कोभिड त सकिएन र ?’ लगत्तै मन्त्रीले प्रश्न गरे । ‘स्थानीयले दुःख दिँदा काम गर्न सकिएन हजुर ।’ ‘के उपाय गरेर हुन्छ, काम छिटो सक्नुस् । मैले के गर्नु पर्याे मलाई भन्नुस् ।’ मन्त्रीको जवाफ थियो । त्यसलगत्तै सहरी मन्त्री चौधरी भैंसेपाटीबाट सिधै राजदरबार परिसरभित्र रहेको गणतन्त्र स्मारकको निरिक्षणमा हानिए ।

त्यहाँ पनि सोचे अनुरुप प्रगति नदेख्दा मन्त्री चौधरी थप असंतुष्ट बने । संबन्धित पक्षलाई उनले छलफलका लागि आइतबार मन्त्रालयमा आउन निर्देशन समेत दिए ।

प्रतिक्रिया