शुक्रबार, वैशाख १४, २०८१

क्रिसमस ट्री सम्बन्धि रोचक तथ्य

नेपालखोज २०७९ मंसिर २८ गते ७:५४

येशू ख्रीष्टको जन्मदिन २५ डिसेम्बरमा मनाइन्छ र यहि दिनलाई क्रिसमस भनिन्छ । क्रिस्चियन धर्मको प्रारम्भिक दिनमा यो पर्व चर्चमा साधारण तरिकाले मनाइए पनि पछि विस्तारै यो पर्वमा जिङ्गल बेल्स, सान्ता क्लज तथा क्रिसमस ट्री को प्रवेश भयो अनि यसलाई थप रमाइलो समेत बनाइयो । अहिले हामी यसको भव्य रूप देख्न सक्छौं । आउनुहोस् जानौं क्रिसमस ट्री सम्बन्धि केहि रोचक जानकारी ।

-क्रिसमस ट्रीलाई बत्ती, बेलुन तथा उज्याला ताराहरूले सजाइन्छ ।

-येशु बस्नुभएको ठाउँ मरुभूमि थियो र येरुसलेममा प्रवेश गर्दा मानिसहरूले उहाँलाई खजूरका हाँगाहरूले स्वागत गरे । क्रिसमसमा यी पामका हाँगाको बिशेष महत्त्व छ ।

– हिउँ पर्ने क्षेत्रमा सदाबहार फर, पाइन तथा देवदारका रूखहरू क्रिसमसको प्रतीक हुन । किनभने त्यहाँ खजूरका हाँगा पाइदैनन् ।

-ईसापूर्वदेखि हिउँदमा पाइनको रुखलाई सटर्नालिया भन्ने पर्वमा सजाइन्थ्यो । यो काम सूर्यको सम्मानमा गरिन्थ्यो । सायद त्यहीँबाट क्रिसमसमा रुख सजाउने चलन चलेको हो ।

-एक पटक सेन्ट बोनिफेस जर्मनीको यात्रामा थिए, उनी एउटा ओकको रूखमुनि आराम गरिरहेका थिए जहाँ गैर-क्रिस्चियनहरूले आफ्ना देवताहरूको सन्तुष्टिका लागि मानिसहरूलाई बलि चढाउँथे । सेन्ट बोनिफेसले त्यो रूख काटे र त्यसको ठाउँमा फरको रूख रोपे। त्यहि समयदेखि सेन्ट बोनिफेसले आफ्ना धार्मिक सन्देशका लागि फर लाइ प्रतीकका रुपमा प्रयोग गर्न थाले ।

-यस बिषयमा एउटा जर्मन किंवदन्ती पनि प्रचलित छ । जब येशुको जन्म भयो, त्यहाँ चर्ने जनावरहरूले उहाँलाई दण्डवत् गर्थे र जङ्गलका सबै रुखहरू सदाबहार पातले ढाकिएका थिए। त्यहि समयदेखि क्रिसमस ट्री ईसाई धर्मको परम्परागत प्रतीक मानिन्छ।

-यो प्रथा इजिप्टियन, चिनियाँ वा हिब्रू मानिसहरूले प्राचीन समयमा सुरु गरेको मान्यता पनि छ ।

-सदाबहार क्रिसमस ट्री डगलस, बालसम वा फरको बिरुवा हो जसमा क्रिसमसको दिन सजावट गरिन्छ ।

-रुसका मानिसहरू जनवरी ७ मा क्रिसमस मनाउँछन् । यतिबेला उनीहरू अग्लो देवदारका रूखहरू सजाउँछन् ।

-आधुनिक युगमा क्रिसमस ट्री पश्चिम जर्मनीमा उत्पत्ति भएको हो । मध्ययुगीन समयमा, एउटा लोकप्रिय नाटक इडेनको बगैंचामा फरका रूखहरू प्रयोग गरेर त्यसमा झुण्डिएको स्याउ चित्रण गरिएको थियो । नाटकमा उक्त रूखलाइ स्वर्गको रूखको प्रतीकका रूपमा देखाइएको थियो ।

-यो रूखका बारेमा यस्तो पनि विश्वास छ – एउटी वृद्ध महिलाले आफ्नो घरमा पाइनको रूखको हाँगा ल्याएर घरमा रोपिन् तर माकुराले त्यसमा आफ्नो जालो बनायो, जब प्रभु येशू ख्रीष्टको जन्म भयो, ती माकुराका जालो एकाएक सुनको तारमा परिणत भए ।

– क्रिसमस ट्री सजाउँदा घरका बालबालिकाहरूको आयु लामो हुने अवधारणा पनि लोकप्रिय छ ।

– यसलाई सजाउँदा वा घरमा राख्दा दुष्ट आत्माहरू आउँदैन पनि भनिन्छ ।

प्रतिक्रिया