लुम्बिनीमा पर्यटकको बसाइँ लम्बाउन सबैको सहकार्य जरुरी

नेपालखोज २०७९ मंसिर २८ गते १५:५४

बुटवल । लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि पर्यटकको बसाइँ अवधि लम्ब्याउने कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिइएको छ । लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ को अवसरमा भैरहवामा आज आयोजित लुम्बिनीको पर्यटन प्रबर्द्धन विषयक अन्तक्र्रिया कार्यक्रमका पर्यटकको बसाइँ अवधि लम्ब्याउने कार्यक्रम बनाएर संञ्चालन गर्न सकिए लुम्बिनीको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने बताइएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले, ‘लुम्बिनी घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाइँ लम्बाउन पर्यटन क्षेत्रका सम्बद्र्ध सबै पक्ष र स्थानीयवासीले समेत सहकार्य गरेर अगाडि बढ्न जरुरी रहेको बताए ।

कोषाध्यक्ष भट्टराईले भारतीय पर्यटक अथवा स्थल मार्ग बाट नेपाल आउने भारत तथा तेस्रो मुलुकका पर्यटकको भ्रमण प्याकेज बनाउने काममा नेपाली पर्यटन व्यवसायी पनि सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिए । ‘लुम्बिनी घुम्न आउने पर्यटकको भ्रमण प्याकेज सबै भारतीय पर्यटन व्यवसायीले बनाउँछन् अनि उनीहरुले दिनभर घुमाएर साँझ उतै भारत तर्फ फर्काउने प्याकेज बनाउँछन्,’ उनले भने, ‘लुम्बिनीको बसाइँ लम्ब्याउने गरी नेपाली पर्यटन व्यवसायीले भ्रमण प्याकेज अन्तर्राष्ट्रिय बजारमा लैजानु जरुरी छ ।’

होटल एशोसियशन नेपालका केन्द्रीय सदस्य सिपी श्रेष्ठले पर्यटकको बसाइँ लम्ब्याउन सरकारी नीति नै सच्चाउनु पर्ने भन्दै सुशासनसहित सबैले काम गरेमा पर्यटक खुसी हुने, उनीहरु खुसी भए खर्च धेरै गर्ने र बसाइँ पनि लम्ब्याउन सकिने बताए ।

नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले पर्यटन क्षेत्रको लागि सबैको सहकार्य र एकता जरुरी रहेको बताए । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले पर्यटन प्रबर्द्धनको लागि सरकारले पूर्वाधार बनाउने र निजी क्षेत्रले सहकार्य गरेर पर्यटकलाई सेवा दिने काम गर्नुपर्ने बताए ।

पर्यटनविद डा हरिध्वज राईले लुम्बिनी आउने पर्यटकको बसाइँ लम्बाउन नसक्दासम्म लाखौँ पर्यटक आए, लाखौँ पर्यटक गए भनेर प्रचार गर्नुको खासै अर्थ नहुने बताए । ‘लुक्लामा एकजना पर्यटन व्यवसायीले मासिक १७/१८ लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । त्यहाँ पर्यटकको सङ्ख्या कम भएता पनि गुणस्तरीय पर्यटक पुगेका छन्,‘ उनले भने, ‘हामीकहाँ एक दिन पनि नबस्ने भीड छ । त्यसले पर्यटन प्रबद्र्धनमा उल्लेख्य सहयोग गर्दैन ।’

अन्तक्रिया कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त प्रमुख सुभाष झाले अन्तर्राष्ट्रिय जहाजको लागि फुलफेजमा उडान गर्ने गरी विमानस्थल तयार भएको बताए । उनले सबै एअरलायन्सले उडान भर्ने वातवरण सिर्जना गर्न सबैको सहकार्य जरुरी रहेको बताए । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले पर्यटन व्यवसाय एक्लै गरेर नहुँने बताउँदै सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । -रासस

प्रतिक्रिया