बुधबार, असार १८, २०८२

देशको नेतृत्व गर्ने अवसर पाए आउँदा पिँढीले सम्झने काम गर्छु : अध्यक्ष दाहाल

नेपालखोज २०७९ मंसिर २८ गते २०:०१

कास्की । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित महेन्द्र आधारभूत विद्यालयको हीरक जयन्तीको आज समापन समारोहमा उनले आफू देशको नेतृत्व गर्ने ठाउँमा पुग्न लागेको उल्लेख गर्दै नेतृत्व गर्ने अवसर पाउँदा अविस्मरणीय र आउँदा पिँढीले देख्ने, बुझ्ने र सिक्नेगरी विकासका परियोजना अघि बढाउने बताए ।

अध्यक्ष दाहालको जन्मस्थल र प्रारम्भिक शिक्षा हासिल गरेको सो विद्यालयको कार्यक्रममा उनले भने, ‘अब मसँग धेरै वर्ष समय छैन । यहाँहरूको आशीर्वाद, माया र शुभकामनाले काम गर्‍यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु ।’

अध्यक्ष दाहालले आफूलाई देशको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा पहिलो प्रथामिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेतर्फ केन्द्रित हुने स्पष्ट पारे । उनले प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो कार्यकाल राम्रोसँग विधि प्रक्रिया र सबै उतारचढाव बुझ्न नपाएर व्यतित भएको र दोस्रो कार्यकालमा देशका लागि राम्रो काम गर्न सकेकामा गर्व लागेको बताए ।

राष्ट्रको एकतालाई सुदृढ गर्ने, मधेस, पहाड र हिमाललाई एकताबद्ध गरी सिङ्गो देशलाई लोकतान्त्रिक प्रक्रियामा प्रवेश गराउनका लागि दोस्रो कार्यकालमा आफू सफल भएको अध्यक्ष दाहालले स्मरण गरे ।

उनले आफ्नो बाँकी जीवन सुशासन र विकासका लागि बिताउने बताउँदै यसपटकको निर्वाचनमा जनताले प्रमुख राजनीतिक दलका नेताहरूलाई केही चुनौती र अवसर दिएको उल्लेख गरे । सबै दलले समीक्षा गरी आर्थिक विकास र समृद्धि गर्ने अभियानमा लाग्नुको विकल्प नभएको अध्यक्ष दाहालको भनाइ थियो ।

उनले भने, “हामीले गम्भीर समीक्षासहित आउँदो दिनमा सुशासनको दृष्टिकोणले पनि विकास र समृद्धिको दृष्टिकोणले पनि नयाँ अभियान सुरु गर्न सकेनौँ भने आउने दिनमा देशमा निकै अप्ठ्यारो हुन सक्छ ।”

निर्वाचनमा केही नयाँ दल जन्मेको हुनाले यसलाई सकारात्मक रूपमा नै लिनुपर्ने उनको भनाइ छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसीले अन्नपूर्णसहित नेपालको विकास र समृद्धिको दाहाल पुनःप्रधानमन्त्री बन्नुपर्ने बताए । दाहाल जन्मेको क्षेत्रमा हाल धुलाम्मे सडक भएकाले यहाँको विकासका लागि दाहालको सहयोग आवश्यक भएको उनले बताए । रासस

प्रतिक्रिया