बिहीबार, जेठ ९, २०८२

४ महिनामा पाँच खर्ब ३२ अर्ब रुपैंयाँको सामान आयात

नेपालखोज २०७९ मंसिर २९ गते १६:३५

काठमाडौं । मुलुकको कुल बस्तु आयातमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको पछिल्लो चार महिनाको प्रतिवेदन अनुसार कुल वस्तु आयात १८ दशमलव एक प्रतिशतले कमी आएको हो ।

सो अनुसार यही कार्तिक मसान्तसम्ममा पाँच खर्ब ३२ अर्ब ६९ करोड रुपैंयाँ बराबरको सामान आयात भएको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१ दशमलव छ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६ दशमलव पाँच प्रतिशत, २० दशमलव नौं प्रतिशत र २० दशमलव एक प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, सुन हवाइजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेपनि सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट् स, एम.एस.विलेट, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात भने घटेको प्रतिवेदनमा उल्लेख छ । निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ जलेश्वर बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो चार महिनामा कुल वस्तु व्यापार घाटा भने १५ दशमलव नौं प्रतिशतले घटेर चार खर्ब ७७ अर्ब ९२ करोड रुपैंयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५६ दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव तीन प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२ दशमलव छ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ४२ अर्ब ६९ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७१ अर्ब ४० करोड बराबरको रहेको छ ।

प्रतिवेदन अनुसार चालु आवको कात्र्तिक मसान्तसम्ममा कुल वस्तु निर्यात ३३ दशमलव तीन प्रतिशतले घटेको छ । प्रतिवेदन अनुसार चालु आवको चार महिनामा ५४ अर्ब ७७ करोड रुपैंयाँको वस्तु निर्यात भएको छ । अघिल्लो आवको सोही अवधिमा भने यस्तो निर्यात एक सय चार दशमलव तीन प्रतिशतले बढेको थियो ।

चालु आवको पछिल्लो चार महिनामा गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४२ दशमलव तीन प्रतिशत र ३४ दशमलव दुई प्रतिशतले घटेपनि अन्य मुलुकतर्फको निर्यात सात दशमलव चार प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलंैचा, चिया, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेकोमा सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ ।

प्रतिक्रिया