आइतबार, जेठ ६, २०८१

नेप्से १,८८२ अंकमा, सातामा पाँच अर्ब १६ करोड ६९ लाखको सेयर किनबेच

नेपालखोज २०७९ पुष १ गते १०:२७

काठमाडौं । यो साता नेप्से १८ सय ८२ दशमलव ६० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६८ दशमलव चार अंकमा पुगेको छ । सातामा दुई सय ५४ वटा कम्पनीहरुको एक लाख तीन हजार आठ पटकको कारोबारमा एक करोड ३९ लाख ६४ हजार एक सय २४ कित्ता सेयर किनबेच भएको छ ।

सातामा पाँच अर्ब १६ करोड ६९ लाख ९७ हजार सात सय ५५ रुपैयाँको सेयर किनबेच भएको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो ।

गत साता भने नेप्सेमा दुई सय ४६ वटा कम्पनीहरुको ९० हजार सात सय ७७ पटकको कारोबारमा एक करोड ८४ लाख ९५ हजार पाँच सय १४ कित्ता सेयर किनबेच भएको थियो । यो अनुसार उक्त साता कूल कारोबार रकम पाँच अर्ब ८५ करोड २० लाख ३१ हजार चार सय ७५ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन नै खुला रहेकोमा दोस्रो दिन नेप्से बढेको थियो भने बाँकी दिनहरुमा घटेको थियो ।

जसमध्ये पहिलो दिन ३१ दशमलव ९७ अंकले घटेर १८ आठ सय ८५ दशमलव ३१ अंकमा झरेको नेप्से अन्तिम कारोबार दिन पनि १४ दशमलव ४८ अंकले घटेपछि १८ सय ८२ दशमलव ६० अंकमा सिमित हुन पुगेको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन छ दशमलव २८ अंकले घटेर तीन सय ६७ दशमलव ३६ अंकमा झरेकोमा अन्तिम कारोबार दिन दुई दशमलव १५ अंंकले घटेर तीन सय ६८ दशमलव चार अंकमा सिमित हुन पुगेको थियो ।

यो साता शिवम सिमेन्ट, नविल बैंक, हिमालयन डिष्ट्रिलरी प्रालि आदिको बढी रकम कारोबार भएका छन् भने शिवम सिमेन्ट, नबिल बैंक, नेपाल टेलिकम आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुँजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया