नेपालमा वर्षेनी हजारौं बालबालिका किन बेपत्ता भइरहेका छन् ?

काठमाडाैं । सरकारी बाल संरक्षण निकाय राष्ट्रिय बालअधिकार परिषद् (एनआरसीआर)का अनुसार नेपालमा हरेक दिन औसतमा छ जना बालबालिका बेपत्ता हुने गरेका छन । यद्यपि ती मध्ये दुई तिहाइ कहिँ न कहिँ फेला पर्छन्, एक तिहाइको ठेगाना पत्ता लगाउन सकिँदैन । एनआरसीआरको तथ्याङ्क अनुसार सन् २००६ देखि जुलाई २०२२ सम्ममा कम्तीमा ३६,६१२ बालबालिका बेपत्ता भएका छन् । तीमध्ये २३,२५९ पछि फेला परे पनि करिब ३६ प्रतिशत अर्थात १३ हजार ३५३ बालबालिका अझै बेपत्ता छन् । बेपत्ता बालबालिकामध्ये १६ जना मृत फेला परेका छन् वा फेला परेपछि मृत्यु भएका छन् ।
जुलाई २०२१ देखि जुलाई २०२२ को बीचमा कम्तिमा ४,६४६ बालबालिका हराएको रिपोर्ट छ, जसमध्ये बालिकाको संख्या ३ हजार ४ सय ३१ थियो । बेपत्ता बालबालिकामध्ये ४ हजार २६९ फेला परे पनि ३ सय ७७ बालबालिका अझै बेपत्ता छन् । ती बालबालिका मध्ये ९० जना बालक तथा २८७ जना बालीबका छन् । हिमालयको काखमा रहेको यो देशका जनतामा नाबालिग बालबालिकालाई बन्धुवा मजदुरी वा यौन शोषणका लागि बेचबिखन गर्ने चिन्ताले सताउँदै लगेको छ ।
नेपालमा १८ वर्ष मुनिका व्यक्तिलाई नाबालिग मानिन्छ । देशको कुल ३ करोड जनसङ्ख्यामध्ये ४० प्रतिशत नाबालिग छन् । सबैभन्दा प्रभावित बालिकाहरू : राष्ट्रिय मानव अधिकार आयोगको २०१९ को प्रतिवेदनअनुसार मुलुकमा करिब ३५ हजार मानिस मानव तस्करको सिकार भएका छन् । जसमध्ये १५ हजार पुरुष, १५ हजार महिला र करिब ५ हजार नाबालिग थिए । एनएचआरसी सदस्य लिली थापाका अनुसार बेपत्ता बालबालिकालाई बन्धक श्रम वा यौन शोषणका लागि बेचबिखन गरिएको हुन सक्ने सम्भावना बढी छ। बेपत्ता बालबालिकामा धेरै नाबालिग बालिका छन् ।
‘काठमाडौं जस्ता ठूला सहरहरूमा, धेरै बालबालिकाले राम्रो शिक्षा प्राप्त गर्न आफ्नो घर छोडेको स्थिति छ, तर तिनीहरू होटल, रेष्टुरेन्ट वा घरमा नोकरको रूपमा काम गर्ने सम्भावना बढी हुन्छ । धेरै बालबालिका कामको खोजीमा भारत गएका भए पनि उनीहरूले आफ्नो परिवारसँग कहिल्यै सम्पर्क गरेका छैनन्। एनएचआरसीका अनुसार सीमापारका तस्करहरूले प्रायः गरिब परिवारका बालबालिकालाई लक्षित गरी यौन शोषणका लागि भारतको रेड-लाइट क्षेत्रमा पठाउँछन्। नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले बेपत्ता बालबालिकामध्ये केहीलाई इँटा भट्टा, होटल, रेष्टुरेन्ट तथा डान्सबारमा काम गराउने सम्भावना रहेको बताए ।’
‘नेपाल प्रहरीले भारतमा पनि हराएका नाबालिग र बेचबिखनमा परेका महिलाको खोजीमा अनुसन्धान गरिरहेको छ, तर बेपत्ता बालबालिकामध्ये कति जना मानव बेचबिखनका शिकार भएका छन् भन्ने तथ्याङ्क हामीसँग छैन,’ राईले भने । अंग काट्ने प्रयोजनका लागि पनि कतिपय बालबालिकाको तस्करी हुने गरेको राईले बताए तर यस्ता घटना विरलै हुने गरेका छन् । उनले भने, ‘पर्यटनको बहानामा अन्य धेरै देश विशेषगरी अफ्रिका र खाडी मुलुकमा मानव तस्करी हुने गरेको छ । एनसीआरसीका रामबहादुर चन्दले हालैका वर्षहरूमा केटीहरू सिकार हुने घटनामा तीव्र वृद्धि भएको बताए। पछिल्लो १६ वर्षमा बेपत्ता भएका ३६ हजार ६१२ बालबालिकामध्ये ६० प्रतिशतभन्दा बढी अर्थात २१ हजार ९४६ बालिका थिए । पछिल्लो पाँच वर्षमा बेपत्ता भएका १६ हजार ७ सय ८५ नाबालिगमध्ये ७१ प्रतिशत अर्थात् ११ हजार ९१६ बालिका थिए ।
चन्दले भने, “बेपत्ता भएका बालिकाहरूमध्ये करिब ७० प्रतिशत १४ वर्ष वा सोभन्दा माथिका छन्।” बढ्दो मुद्दालाई नियन्त्रण गर्ने प्रयासमा सरकार नेपालका चर्चित मानवअधिकारकर्मी मोहना अन्सारीका अनुसार देशमा जसरी बालबालिका हराउने घटना बढ्दै गएको छ, त्यसले बालबालिका खोज्न सरकारले चासो नदेखाएको देखाउँछ । कतिपय घटना सार्वजनिक नभएकाले हराएका बालबालिकाको वास्तविक संख्या बढी हुनसक्छ भने अर्कातर्फ प्रहरी प्रवक्ता राई यो कुरामा सहमत देखिँदैनन् ।
उनी भन्छन्, ‘नेपालमा बेपत्ता बालबालिकाको संख्या आधिकारिक तथ्यांकभन्दा ‘धेरै कम’ हुन सक्छ । उनले भने, ‘बालबालिका हराएपछि हामीलाई जानकारी गराइन्छ, तर फेला परेपछि परिवारले हामीलाई खबर गर्दैनन्। यस कारणले बेपत्ता बालबालिकाको तथ्याङ्कलाई बढावा दिइन्छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता यमलाल भुसालले नेपालबाट बेपत्ता भएका बालबालिका कहाँ जाँदैछन् वा यसको पछाडि कसको हात छ भन्ने प्रष्ट जवाफ आफूसँग नभएको बताए । भुसालका अनुसार सरकारले बालबालिका हराउने बढ्दो घटनालाई न्यूनीकरण गर्न नीति तथा योजना तर्जुमा गरिरहेको छ । ‘हामी विद्यमान नीतिहरूको समीक्षा गर्दै नयाँ नीतिहरू तर्जुमा गर्दैछौं । साथै, बेपत्ता बालबालिकाको खोजी गर्न विभिन्न निकायहरूबीच राम्रो समन्वय गर्नका लागि धेरै कार्ययोजनाहरू कार्यान्वयन भइरहेका छन्,’ उनले भने । स्रोत : डिडब्ल्यु

प्रतिक्रिया