सङ्क्रमण घटेपछि खोप ल्याइएन

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि भाइरसविरुद्ध खोप आएको छैन । सङ्क्रमण घट्दै गएको र ठूलो सङ्ख्यामा खोप मौज्दात रहेकाले तीन महिनादेखि कोरोना भाइरसविरुद्ध खोप नल्याइएको हो ।
कोरोना भाइरसको सङ्क्रमण घट्दै र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए । कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको सङ्ख्या कम हुनु र नेपालमा ठूलो सङ्ख्यामा खोप मौज्दात भएकाले थप खोप नल्याइएको हो । अहिले सङ्क्रमण दर एक प्रतिशत भन्दा पनि कम रहेको छ । यही पुस १ गते आठ सय ४६ जनाको परीक्षण गर्दा एक जनामा पनि सङ्क्रमण देखिएको छैन ।
उनका अनुसार अन्तिम पटक भदौ २७ गते कोभ्याक्समार्फत १४ लाख ९९ हजार नौ सय ४० मात्रा खोप ल्याइएको छ । त्यसयता सरकारले खोप ल्याइएको छैन । ‘अहिले प्रदेश र जिल्लाबाट खोपको माग भएको छैन । माग नभएपछि त्यतिकै राख्नुपर्दछ भनेर हामीले खोप ल्याएका छैनौं, उनले भने ‘तर बुस्टर डोजका लागि आवश्यक खोप भने ल्याउँछौँ ।’
उनले खोपको माग कम भएपछि खोप नल्याइएको बताउनुभयो । ‘नेपाल ल्याएर खपत नहुने र म्याद सकिने डरले सम्झौता गरेको खोप पनि अहिले ल्याएका छैनौँ”, उनले भने ‘आवश्यकता अनुसार सम्झौता गरिएको खोप ल्याउँछाै।’सम्झौता गरिएको मध्ये दुईपटक गरेर ३७ लाख मात्रा खोप भने नेपाल आइसकेको छ ।
बुस्टर डोजका लागि ल्याइने
सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ । पहिलो र दोस्रो मात्रा लगाएका लागि थप मात्रा लगाउन खोप ल्याउने थालेको आपूर्ति व्यवस्थापन शाखाप्रमुख चौरसियाले जानकारी दिए ।
नेपालमा सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि पहिलोपटक भारतबाट सन् २०७७ माघ ८ गते १० लाख मात्रा खोप ल्याइएको थियो । त्यसपछि पटक पटक गरी अहिलेसम्म छ करोड ३२ लाख ७६ हजार सात सय १० मात्रा खोप आइसकेको छ । नेपालमा कोभिशिल्ड, भेरोसेल, मोर्डना, एस्ट्राजेनिका, जोन्सन एन्ड जोन्सन र फाइजर लगायतका कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।
नेपालले आफैँ खरिद गरेर, दातृ निकायबाट अनुदान र कोभ्याक्स सुविधामार्फत कोरोना भाइरसविरुद्ध खोप ल्याएको छ । उनका अनुसार ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात रहेका छन् । सबभन्दा बढी भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात रहेको छ । यस्तै फाइजर ६० हजार सात सय ५६ मात्रा, फाइजर (बालबालिका)लाई लगाउने चार लाख ९४ हजार सात सय १० मात्रा मौज्दात रहेको छ ।
सबभन्दा बढी केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल मौज्दात रहेको छ । नेपालमा कूल लक्षित जनसङ्ख्यामध्ये ९९.५ प्रतिशतमा पहिलो मात्रा र ९५.७ प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकेको छ । यस्तै कूल जनसङ्ख्याको ७९.५ प्रतिशत पहिलो मात्रा र ७६.५ प्रतिशत पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

प्रतिक्रिया