विश्वकपको फाइनल यात्रा

नेपालखोज २०७९ पुष ३ गते १०:१३

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताको २२औं संस्करणको फाइनलमा आज पुस ३ गते आइतबार राति ८:४५ बजे अर्जेन्टिना र फ्रान्सबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । यो फाइनल प्रतिस्पर्धा लुसेल आएकोनिक स्टेडियममा संचालन हुनेछ ।

अर्जेन्टिना साविक उपविजेता क्रोएसियालाई पहिलो सेमिफाइनलमा ३-० ले पराजित गर्दै ८ वर्षपछि फाइनल पुगेको हो भने साविक विजेता फ्रान्स दोस्रो सेमिफाइनलमा ‘अन्डरडग’ मोरक्कोलाई २-० ले पराजित गर्दै फिफा विश्वकप – २०२२ को उपाधिका लागि अर्जेन्टिनासँगको भेट पक्का गरेको हो ।

रोचक संयोग के भने फ्रान्स र अर्जेन्टिना दुवैले समूह चरणका एक – एक खेलमा पराजय भोगेको थिए । अर्कातिर सेमिफाइनलसम्म पुग्दा अपराजित रहेका क्रोएसिया र मोरक्को एक खेलको हारपछि नै विश्वकपबाट बाहिरिए ।

विश्वकपको २२औं संस्करणको फाइनलमा भिडन लागेका अर्जेन्टिना र फ्रान्स दुवै दुई – दुई पटकका विश्व च्याम्पियन हुन् भने अर्जेन्टिना छैटौं पटक तथा फ्रान्स चौथो पटक विश्वकपको फाइनलमा पुगेका हुन् ।अर्जेन्टिनाले १९७८ र १९८६ मा विश्वकप फुटबलको उपाधि जितेको थियो । सन् १९३० को पहिलो विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना त्यतिबेला उरुग्वेसँग पराजित भएको थियो भने १९९० र २०१४ को फाइनलमा पनि अर्जेन्टिनाले उपबिजेता मै चित्त बुझाउनु पर्यो ।

यसैगरी फ्रान्सले १९९८ र २०१८ मा विश्वकपको उपाधि जितेको थियो भने २००६ मा उपबिजेता भएको थियो । अर्जेन्टिना र फ्रान्स दुवैले आ-आफ्नो पहिलो विश्वकप घरेलु मैदानमा आयोजकको रुपमा जितेका थिए । अर्जेन्टिनाले १९७८ मा आफ्नै मैदान नेदरल्याण्ड्सलाई ३-१ ले हराएर उपाधि जितेको थियो ।

१९९८ मा पहिलो पटक फाइनल पुग्दा फ्रान्सले साविक विजेता ब्राजिललाई ३-० ले हराएर पहिलो पटक उपाधि जितेको थियो । आज हुने खेलमा जित हात पार्ने देसले तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्नेछ भने हार्ने देस तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्नबाट बन्चित हुनेछ ।

अहिलेसम्म ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप जितेको छ भने इटली र जर्मनीले समान चार – चार पटक विश्वकप जितेका छन् । यस बाहेक उरुग्वेले २ पटक तथा इंग्ल्याण्ड र स्पेनले समान एक पटक विश्वकप जितेका छन् । यस हिसाबले यसपटकको विश्वकप बिजेता सर्वाधिक विश्वकप जित्ने लहरको तेस्रो स्थानमा पुग्नेछ ।

प्रतिक्रिया