२० वर्षीय विपना चिया बेचेर मासिक ६० हजार बचत गर्छिन्

रेसुङ्गा । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन्। यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ ।
यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९० हजार कमाइ गर्छिन् ।
बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक दुई सय कप चिया बेच्छिन्। बजारमा चियाको मूल्य २५ भए पनि विपनाले एक कप चिया २० का दरले दिने गर्छिन् । “चिया बेचेर मासिक ९० हजार कमाइ हुन्छ”, उनि भन्छिन्, “घरखर्च सबै कटाएर ६० हजार बचत गर्दै आएकी छु । ” विपनाले दैनिक चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि मासिकरूपमा औसत कमाइ तीन हजार भएको बताउछिन् ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि विपना पढ्नका लागि तम्घास आएकी हुन् । उनले रेसुङ्गा बहुमुखी क्याम्पसबाट ‘प्लस टु’ सक्काएकी छिन् । यसपछि फुर्सदमा समयमा चिसो तम्घासमा तातो चिया बेच्ने सुरुआत गरिन्। मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने । राम्रो भएमा निरन्तरता दिने । होइन भने छाड्ने भनेर थालनी गरिन् । तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि विगत एक वर्षदेखि उनले निरन्तर चिया बेचिरहेकी छिन् ।
अनुभव सङ्गाल्ने भनेर चिया बेच्न सुरु गरेको उनि बताउछिन्। “अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरा दिएँ”, उनि भन्छिन् “मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन”, उनले भनिन् । तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीनरूपमा निरन्तरता दिने उनाको भनाइ छ ।
आमाबुवा र आफन्त आफ्नो कर्मबाट खुसी भएको पनि उनि बताउछिन् । उनि बिहान ६ बजे बजारमा चिया बेच्न निस्कनछिन् । त्यसपछि फर्किएर खाना खाएपछि फेरी उनि १२ बजे पछि चिया बच्न जान्छिन् । तम्घास बजारमा चिया बिक्री नहुने समस्या कुनै दिन पनि नरहेको विपनाले बताउछिन् । आफूले तयार गरेको चिया छोटो समयमै खपत हुने गरेको छ, उनि भनिन्छन् ।
उनलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ छ । कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन् । कार्यक्रममा उपस्थितिले विपनाको खुलेर प्रशंसा गर्छन् ।
उनि उपल्लो तम्घासमा रहेको मामाघरमा बस्दै आएकीछिन्। उनी आफुले बिरामी हजुरआमाको हेरचाह पनि गरिरहेको बताउछिन् । विपनाका बुवा हरिबहादुर कृषक हुनुहुन्छ भने आमा कोपिला गाउँकै विद्यालयमा शिक्षिका हुनुहुन्छ । चिया बेचेर तम्घास बजार डुल्दा अहिलेसम्म कसैले नराम्रो नभनेको सबैले राम्रो भन्दै प्रशंसा गर्ने गरेको विपनाको अनुभव छ ।
विपना आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँठाउँमा केही रोजगार वा व्यवसाय गर्न सुझाव गर्छिन । उनले केही कामका लागि लजाउने वा डराउने बानी राख्नै नहुने बताइन् । लाज र डरले जिन्दगीमा अगाडि बढ्न नसकिने उनको तर्क छ । विपना अहिले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्दै छिन्।

प्रतिक्रिया