पब्जीको विश्वकपमा नेपाली टिम फाइनल खेल्दै

काठमाडाैं । नेपालका दुईवटा टिम द रिअल सोल्जर्स (डीआरएस) तथा ट्रेन्ड टु किल (टीटूके) चर्चित मोबाइल गेम पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा पुगेका छन् । अब उनीहरू विभिन्न देशका अन्य चौधवटा समूहविरुद्ध च्याम्पियन बन्नका लागि भिड्नेछन् ।
चिनियाँ कम्पनी टेन्सेन्ट गेम्सले आयोजना गरेको यो प्रतियोगिताको कुल पुरस्कार रकम चालिस लाख अमेरिकी डलर छ । उक्त रकम अन्तिम चरणमा पुगेका १६ वटै टिमलाई उनीहरूले प्राप्त गरेको अङ्कका आधारमा प्रदान गरिन्छ । जसअनुसार सेमिफाइनल चरण पार गरेका दुवै नेपाली टिमले एक-एक करोड नेपाली रुपैयाँभन्दा बढी रकम प्राप्त गर्ने निश्चित भैसकेको बताइन्छ ।
टीटूकेकी व्यवस्थापक सङ्गीता गुरुङका अनुसार उनको समूहले ८० हजार डलर प्राप्त गर्दैछ । त्यस्तै डीआरएसका व्यवस्थापक सङ्गीन भट्टराईका अनुसार उनको समूहले ७२ हजार डलर पाउँदैछ । ‘हाम्रो लक्ष्य ग्लोबल च्याम्पियन बन्ने हो। तर यदि हामी त्यहाँसम्म पुगेनौँ भने पनि हालसम्म प्राप्त प्वाइन्टको आधारमा तोकिएको रकम नेपाल भित्र्याउने पक्का छ,’ भट्टराईले भने ।
अन्तिम चरणको खेलमा उनीहरूले थप्दै जाने अङ्कले पुरस्कार रकम पनि बढाउँदै लग्नेछ । उक्त प्रतियोगितामा सुरुमा विश्वभरिका ४८ समूहबीच प्रतिस्पर्धा भएको थियो त्यसमा तीनवटा नेपाली टिम थिए तर नेपालको स्काइलाइट्स गेमिङ चाहिँ प्रतियोगिता बाट बाहिरिएको छ । यद्यपि, उक्त समूहले ३३ हजार डलर बराबरको नगद पुरस्कार प्राप्त गरेको हुनसक्ने बताइएको छ । ‘यो प्रतियोगितामा हरेक देशबाट जतिवटा समूह सहभागी भए पनि हुन्छ तर उनीहरूले शृङ्खलाबद्ध रूपमा विभिन्न चरण पार गर्नुपर्छ,’ भट्टराईले जानकारी दिए ।
स्रोत : बीबीसी
प्रतिक्रिया