प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मेमोरी किङका रूपमा विश्वमा चिनिएका अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले दुई पटकसम्म कीर्तिमान राख्न सफल भएकोप्रति शुभकामना दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिए ।
शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर दोस्रो विश्व कीर्तिमान कायम गरे । उनले आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरूको प्रयोगबाट कीर्तिमान राख्न सफल भएको बताए । थप विश्व रेकर्ड कायम गर्ने अठोट गरेका शर्माले आफ्नो स्मरण शक्ति तालिमद्वारा विद्यार्थीहरुको पनि स्मरणशक्ति बढाई शिक्षा क्षेत्रमा मद्दत पुर्याएका छन् ।
शर्माले यसअघि सन् २०१५ मा एक मिनेटमा ४२ वस्तुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए । ‘यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरूको भएको महसुस गरेको छु”, रासससँग कुरा गर्दै शर्माले भने, ‘आगामी दिनमा अझै विश्व कीर्तिमान राखेर नेपालको नाम विश्वसामु फैलाउने वाचा गर्दछु ।’

प्रतिक्रिया