कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेद्वारी दर्ता आज

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि आज उम्मेद्वार दर्ता हुँदै छ । कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन बुधबार हुनेगरी कार्यतालिका सार्वजनिक गरेको थियाे ।
निर्वाचन प्रयोजनार्थ गठित निर्वाचन समितिमा पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन् ।
तालिका अनुसार उम्मेदवारका लागि दर्खास्त दिउँसो २ बजेदेखि ३ बजेसम्म र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन आजै अपराह्न ५:४५ बजेसम्म हुनेछ ।
समितिले उम्मेद्वारको दर्खास्त साथ दाखिल हुनुपर्ने शुल्क ५१ हजार तोकेको छ । मतदान पुस ६ गते बिहान ८ देखि १० बजेसम्म हुनेछ ।
मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ । कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुने र लगत्तै मतगणना गरी परिणाम घोषणा गरिनेछ ।
यसबीच नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेद्वार छान्न बसेको नेता शेखर कोइराला समूहको बैठक बिना निष्कर्ष टुंगिएको छ । संस्थापन इतर समूहमा सोमबार बिहानदेखि नेता शेखर कोइराला र महामन्त्री गगन थापा मध्ये एउटा उम्मेद्वार बनाउने विषयमा छलफल भएको थियो ।
एक सहभागीका अनुसार महामन्त्री गगन थापाले आफूले संसदीय दलको नेतामा चुनाव लड्ने भनेर मत मागेको बताए । अहिलेको अंगकणितले संसदीय दलको चुनाव जित्ने अवस्था पनि भएकाले आफूलाई उम्मेदवार बन्न दिन उनले आग्रह गरेका थिए ।
उनले भनेका छन्, ‘मेरो नेता शेखर कोइराला हो, यसमा शंका गर्न जरुरी छैन ।’ डा. शेखरले भने १४औं महाधिवेशनमा शेरबहादुर देउवासँग आफूले प्रतिस्पर्धा गरेकाले आफ्नै नेतृत्वमा अघि बढ्दा के फरक पर्छ भन्ने प्रश्न गरेका थिए । यता इतर पक्षका नेता तथा सांसदहरूले कोइराला र थापालाई मिलेर एक जना उम्मेद्वार बन्न दबाब बढाएका छन् ।
प्रतिक्रिया