कहाँ बाट ल्याउँछ फिफाले यति धेरै पैसा ?

काठमाडौं । यसपटक विश्वकप फुटबल प्रतियोगिता जित्ने अर्जेन्टिनाले करिब ५ सय ५५ करोड रुपैयाँ प्राप्त गरेको छ भने उपबिजेता फ्रान्सले करिब ३ सय ९६ करोड रुपैयाँ पाएको छ । यसैगरी तेस्रो हुने क्रोएशियालाई ३ सय ५६ करोड तथा चौथो स्थानमा रहेको मोरक्कोलाई ३ सय २९ करोड रुपैयाँ प्रदान गरिएको छ।
फिफा विश्वकप खेल्ने प्रत्येक देसलाई पुरस्कार स्वरुप केही रकम दिइन्छ । फिफा विश्वकै धनी खेलकुद संस्था हो त्यसैले पनि फिफाले फुटबल विश्वकपमा खेल्ने टिमलाई अन्य खेलको तुलनामा बढि रकम पुरस्कार स्वरूप प्रदान गर्दछ । फिफा एउटा यस्तो संस्था हो जसको उद्देश्य संसारमा फुटबलको विस्तार गर्नु हो , पैसा कमाउनु होइन । यती हुँदाहुँदै फिफाले कसरी यति धेरै आम्दानी अनि खर्च गर्छ त ?
फिफाले चार तरिकाले पैसा कमाउँछ । फिफासँग आयका चार वटा स्रोत छन् । टेलिभिजन अधिकार, मार्केटिङ अधिकार, इजाजतपत्र तथा टिकट बिक्री । यसमार्फत फिफामा अर्बौं रुपैयाँ आउँछ, जुन विभिन्न देश र टिमहरुलाई बाँडिन्छ । उक्त रकम संसारभरि फुटबल गतिविधि चलाउन , प्रतियोगिता आयोजना गर्न तथा खेल विस्तार गर्न खर्च गरिन्छ।
टेलिभिजन अधिकार : फिफाको अधिकांश पैसा टेलिभिजन अधिकारको लिलामीबाट आउँछ । फुटबल संसारको सबैभन्दा लोकप्रिय खेल हो र लाखौं प्रशंसकहरु सारा काम छोडेर फुटबल खेलहरू हेर्छन् जसका कारण धेरै कम्पनीहरूले फिफालाई टिभी अधिकारका लागि बोलपत्र दिन्छन् र सबैभन्दा बढी बोली लगाउने कम्पनीले फिफाका खेलहरूको प्रसारण गर्ने अधिकार पाउँछ ।
मार्केटिङ अधिकार : फिफा विश्वकपलाई प्रायोजित गर्ने अन्य धेरै प्रायोजकहरू छन्, जसले खेलहरूमा आफ्नो नाम र लोगोहरू देखाउन प्रसस्त पैसा तिर्छन् । फिफा विश्वकप – २०२२ ले पनि मार्केटिङ अधिकार मार्फत ठूलो रकम प्राप्त गरेको छ।
इजाजतपत्र : फिफा विश्वकपले ब्रान्ड इजाजतपत्र र रोयल्टीहरूबाट पनि महत्त्वपूर्ण राजस्व जुटाउँछ । यसबाहेक पनि यो संस्थाले मनग्य आम्दानी गर्छ ।
टिकट बिक्री : फिफाले प्रत्येक खेलको टिकट बिक्रीबाट पनि ठूलो रकम प्राप्त गर्दछ। विश्वकपको टिकटबाट हुने आम्दानी पनि फिफा कै कोषमा जान्छ ।
प्रतिक्रिया