शुक्रबार, जेठ ३, २०८२

चीनमा देखिदैछ कोरोनाको विकराल रुप

नेपालखोज २०७९ पुष ६ गते ११:०५

काठमाडौं । चीनका एक शीर्ष स्वास्थ्य अधिकारीले चीनमा हालको जाडो मौसममा कोरोनाका तीनवटा लहर आउन सक्ने बताएका छन् । देशले अहिले ती तीन मध्ये पहिलो लहरको सामना गरिरहेको छ । महामारीविद् वु जुन्याओले संक्रमणको पछिल्लो वृद्धि जनवरीको मध्यसम्म रहने बताएका छन् । उनका अनुसार दोस्रो लहर जनवरीको अन्त्यमा आउने अनुमान छ ।

दोस्रो लहर जनवरी २१ देखि सुरु हुने एक हप्ता लामो चिनियाँ नयाँ वर्षको वरिपरि देखा पर्न सक्छ । चिनमा यो समयमा लाखौं मानिस परिवारसँग बिदा मनाउन यात्रामा लाग्छन् । फेब्रुअरीको अन्त्यदेखि मार्चको मध्यसम्म मानिसहरु काममा फर्किने क्रममा संक्रमणमा तेस्रो वृद्धि हुने अनुमान गरिएको डाक्टर वुले बताए ।

चीनमा आयोजित एक सम्मेलनमा उनले हालको खोपले सङ्क्रमण बढ्ने बिरुद्ध निश्चित स्तरको सुरक्षा प्रदान गरेको बताए जसका कारण गम्भीर बिरामीको संख्यामा कमी आएको छ ।

सन् २०२३ मा १० लाख मानिसको मृत्यु हुने अनुमान : चीनले आफ्नो ९० प्रतिशतभन्दा बढी जनसंख्यालाई पूर्ण खोप लगाइ सकेको कुरा बताएको छ । यद्यपि, ८० वर्ष वा त्यस भन्दा माथिका आधाभन्दा कमले मात्र खोपको तीनवटै डोज पाएका छन्। वृद्धवृद्धालाई कोरोनाको गम्भीर लक्षण हुने सम्भावना बढी हुन्छ ।

चीनले कोभिडको आफ्नै खोप विकास गरेको छ । दावी अनुसार चिनियाँ खोपहरू बाँकी विश्वमा प्रयोग हुने खोपहरूको तुलनामा कम प्रभावकारी छन् । गएको हप्ताको सुरुमा अमेरिकाको एक प्रतिष्ठित अनुसन्धान संस्थानको रिपोर्ट सार्वजनिक भएपछि डा. वुको पछिल्लो बयान आएको हो। उक्त अमेरिकि प्रतिवेदनमा २०२३ मा कोविड संक्रमणका कारण १० लाखभन्दा बढी मानिसको मृत्यु हुने अनुमान गरिएको छ ।

चिनियाँ सरकारले डिसेम्बर ७ देखि कोभिडबाट कुनै पनि मृत्युको आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। यो त्यो मिति हो जब शून्य-कोविड नीतिको बिरूद्ध राष्ट्रव्यापी विरोध प्रदर्शन पछि प्रतिबन्धहरू हटाइयो । बेइजिङमा कोरोनाका कारण मृत्यु हुनेहरुको वास्तविक रिपोर्ट देखाइँदैन भने बेइजिङ र देशका अन्य सहरका अस्पतालहरूले ताजा लहरको सामना पनि गरिरहेका छन् ।

यसबीच, चीनको ठूलो सहर सांघाईमा, त्यहाँको प्रशासनले कोभिडको बढ्दो केस बीच आफ्ना अधिकांश स्कूललाई अनलाइन कक्षामा जान आदेश दिएको छ । सांघाईको शिक्षा ब्यूरोका अनुसार गएको सोमबारदेखि नर्सरी र बाल हेरचाह केन्द्रहरू पनि बन्द गरिएका छन् । चीनको ‘शून्य-कोविड’ नीतिका बिरूद्ध कडा विरोध भए पछि, त्यहाँका अधिकारीहरूले यो महिनाको सुरु देखि नै प्रतिबन्धहरू खुकुलो पारे तर, यो घटना पछि चीनमा कोभिडको फैलावटलाई लिएर चिन्ता बढेको छ ।

सहरका केही विद्यालयले शिक्षक तथा कर्मचारीहरुको स्वास्थ्यमा समस्या देखिएपछि आफ्ना कक्षा बन्द गरिसकेका छन् । अब चिनमा नयाँ वर्षको बिदासम्म विद्यालयहरु बन्द रहनेछन् अर्थात सांघाईका विद्यालयहरू जनवरी १७ मा सुरु हुने नयाँ वर्षको बिदासम्म बन्द रहनेछन् ।

धेरै चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सरकारको पछिल्लो निर्णयप्रति सहमती जनाउँदै उक्त कदमको प्रशंसा गरेका छन्। उनिहरुका अनुसार अहिलेको अवस्थामा सबैभन्दा राम्रो कुरा विद्यार्थीहरू घरमै बस्नु हो । जबकि कतिपयले अनलाइन कक्षाको प्रभावकारिता र काम गर्ने अभिभावकहरूको बढ्दो तनावका बारेमा गुनासो गरेका छन् । शून्य-कोविड नीति त्यागेपछि चीनमा नयाँ केसहरू विस्फोट भएका छन् बीबीसीको रिपोर्टमा भनिएको छ । धेरै सहरहरूमा, ठूलो संख्याका मानिसहरू आफ्नो घरमा बाँकी संसारबाट अलग – थलग भएर बसिरहेका छन् ।

चीनको स्वास्थ्य पूर्वाधारले बिरामीको तीव्र वृद्धि सामना गर्न नसकेकोमा चिन्ता व्यक्त गरिएको छ। विशेष गरी वृद्धहरूको मामलामा, जसमध्ये धेरैले अझै पूर्ण रूपमा खोप लगाएका छैनन्। देशको कोभिड परीक्षण र रिपोर्टिङ प्रणालीमा भएको महत्वपूर्ण परिवर्तनले भाइरस कति व्यापक रूपमा फैलिएको छ भन्ने थाहा पाउन गाह्रो भएको छ ।

संक्रमण कम भएपछि पनि चिन्ता कायमै छ : डिसेम्बर ११ मा समाप्त भएको हप्ताको तथ्याङ्कले देखाउँछ कि संक्रमण एक हप्ता अघि चरममा थियो। त्यसपछि चीनमा नयाँ संक्रमितको आधिकारिक संख्यामा कमी आएको छ । यद्यपि, तथ्याङ्क सङ्कलनमा भर्खरैको परिवर्तन अघि, अप्रिलमा अघिल्लो लहरको तुलनामा कुल सङ्ख्या बढी थियो। पछिल्लो समय कोभिड परिक्षणमा आएको कमीका कारण यो संख्या वास्तविकताभन्दा कम रहेकोमा चिन्ता व्यक्त गरिएको छ ।

गएको आइतबार मात्र २ हजार ९७ नयाँ केस दर्ता भएका छन् । अस्पताल र चिकित्सा सुविधामा दबाब बढ्दै गएपछि चीनमा अस्थायी स्वास्थ्य केन्द्र तथा आईसीयूहरु स्थापना गरिएका छन । सांघाई अस्पतालमा २.३० लाख अस्थायी बेड बनाइएको छ ।

प्रतिक्रिया