मेस्सीले २०२६ को विश्वकप पनि खेल्न सक्छन् !

मेस्सीले कतार बिश्वकपको फाइनल खेल नै आफ्नो अन्तिम विश्वकप हो भनेको मैले पनि सुनें । यो कुरा उनले फाइनलअघि भनेका थिए । सम्भवत : त्यो उनको आफ्नो ब्यक्तिगत सोच हो तर म यसमा स्पष्ट छु कि मेस्सीका लागि २०२६ को विश्वकपमा पनि स्थान हुनेछ , आजकै जस्तो । त्यतिबेला पनि हाम्रो टिमको योजनामा मेस्सी चाहिन्छ,’ अर्जेन्टिनाका प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले भनेका छन – ‘मेस्सीको उमेर ? त्यो केवल अंक हो । उनले जसरी पनि टिमलाई सघाउँछन् । यस बीषयमा सोच्न र कुनै निर्णय लिन मेस्सीसँग प्रशस्तै समय छ ।’
कतारमा फिफा विश्वकप फुटबलको फाइनल खेलअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले उनका लागि फ्रान्सविरुद्धको खेल नै अन्तिम विश्वकप खेल हुने कुरा बताएका थिए । क्रोएसियालाई पराजित गरेर फाइनल प्रवेश गरेपछि खुसी व्यक्त गर्दै मेस्सीले आफ्नो अन्तिम विश्वकपको अन्तिम खेल फाइनल हुने भन्दै उत्साह व्यक्त गरेका थिए । अन्ततः अर्जेन्टिनाले उनकै नेतृत्वमा साबिक विजेता फ्रान्सलाई हराएर उपाधि पनि जित्यो । के खेलअघि मेस्सीले भनेजसरी नै उनका लागि यो अन्तिम विश्वकप थियो त ? अर्जेन्टिनाका प्रमुख प्रशिक्षक लियोनल स्कालोनीका माथिका भनाइले मेस्सीको प्रतिबद्धतामा प्रश्नचिन्ह खडा गरेको छ ।
सन् २०२६ को विश्वकप हुँदा मेस्सी ३९ वर्षका भइसक्नेछन् र, त्यो उमेरमा विश्वकप खेल्नु मेस्सीका लागि कठिन हुनेछ । यद्यपि बदलिँदो भूमिकामा उनी टिमको हिस्सा बन्न सक्छन् । यदि मेस्सीले कतारमा बोलेको कुरा फिर्ता लिएनन् भने । किनभने उनले यस अघिको बिश्वकप मा पराजित भएर घर फर्कनु अघि रास्ट्रीय टिमबाट सन्यासको घोषणा गरेका थिए । मेस्सीले यस्तो दुई पटक गरिसकेका छन र टिममा फिर्ता भएका पनि छन् ।
कतार विश्वकपको उपाधि जितेपछि अर्जेन्टिनाका प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले मेस्सीको भन्दा फरक कुरा बताए पछि अहिले फेरि मेस्सीको भनाइ धरापमा परेको छ । मेस्सीकै नायकत्वमा दुई प्रमुख उपाधि जिताएका स्कालोनीले मेस्सीका लागि २०२६ को विश्वकपमा पनि टिममा स्थान सुरक्षित हुने मात्र बताएनन् उनले मेस्सीले दोस्रो विश्वकप पनि जित्ने दाबी गरेका छन् । मेस्सीलाई उमेरले फरक नपार्ने भन्दै स्कालोनीले मेस्सीले आफ्नो भनाइ र सोच बदल्ने दाबी गरेका छन् । मेस्सीको आवश्यकता आफ्नो योजना र टिमका लागि भोलि – पर्सि पनि रहने स्कालोनीको धारणा छ ।
प्रतिक्रिया