फेरि चर्चामा आएका चार्ल्स शोभराजको दुर्दान्त कथा

काठमाडाैं । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि फ्रान्सेली सिरियल किलर चार्ल्स शोभराज फेरि एकपटक चर्चा र विवादमा छन् । शोभराज दुई जना पर्यटकको हत्याको आरोपमा सन् २००३ देखि नेपालको जेलमा छन् । उनलाई उनको उमेरका आधारमा रिहा गर्ने आदेश दिइएको सर्वोच्चको जिकिर छ ।
भनिन्छ ७८ वर्षीय शोभराज मुटु रोगबाट पीडित छन् । ‘द सर्पेन्ट’ तथा ‘बिकिनी किलर’ जस्ता उपनामले चर्चित चार्ल्स शोभराजको जन्म ६ अप्रिल १९४४ मा भियतनामको साइगनमा भएको थियो । उनकी आमा भियतनामी नागरिक हुन् भने उनका बुबा भारतीय ।
त्यतिबेला भियतनाम फ्रान्सको कब्जामा थियो । फ्रान्सेली उपनिवेशमा जन्मीएकाले उनले फ्रान्सेली नागरिकता लिएका थिए । भेष बदल्ने बिषयका विज्ञ चार्ल्स शोभराजले पर्यटक र युवतीलाई लक्षित गर्थे । चार्ल्स शोभराज बिरुद्ध भारत , थाइल्याण्ड , नेपाल, टर्की तथा इरानमा २० भन्दा बढी हत्याको आरोप छ ।
उनलाई सिरियल किलर भनिन्छ तर अगस्ट २००४ अघि उनी त्यस्तो कुनै पनि मुद्दामा दोषी ठहरिएका थिएनन् । अपराधी भएर पनि शोभराज जेलबाट बाहिर निस्किरहेका छन् वा अधिकारीलाई घूस दिएर जेलमा सुविधा पाइरहेका छन् । शोभराज भारत बाहेक अफगानिस्तान, ग्रीस र इरानको जेलबाट सबैलाई चकित तुल्याउँदै बाहिर आएका छन । फ्रान्सेली पर्यटकलाई विष ख्वाएको मुद्दामा उनले झण्डै २० वर्ष भारतीय जेलमा बिताएका थिए ।
अपराधको संसारमा प्रवेश : शोभराजले आफ्नो प्रारम्भिक जीवनमा फ्रान्समा सानातिना अपराध गरेका थिए तर उनको सिरियल किलर रुप सन् १९६३ मा एसियाको भ्रमणमा आए पछि देखा परेको हो । आपराधिक घटना घटाउने उनको शैली सधैं एउटै भएको विज्ञहरू बताउँछन् । उनी फ्रान्सेली र अंग्रेजी बोल्ने पर्यटकहरूसँग मित्रता बढाउँथे जो ड्रग्स पनि सेबन गर्थे । पछि तिनीहरूको सामान लुटन उनीहरूको हत्या गर्ने गरेको आरोप शोभराज माथि छ । सन् १९७२ देखि १९८२ सम्म शोभराज बिरुद्ध हत्याका २० भन्दा बढी आरोप लागेका थिए ।
ती सबै घटनामा पीडितहरूलाई लागूऔषध खुवाइएको थियो र पछि उनिहरुको घाँटी थिचिएको थियो । उनी दुई पटक भारतको जेलबाट भागेका थिए । एक पटक उनी तिहाड जस्तो उच्च सुरक्षा भएको कारागारबाट पनि भागेका थिए । जेलबाट कसरी र किन भागे ? : सन् १९७६ मा उनलाई १२ वर्षको जेल सजाय सुनाइयो तर दश वर्षपछि उनि १९८६ मा तिहाड जेलबाट भागे । शोभराजले जेलमा आफ्नो बर्थडे पार्टीको आयोजना गरेका थिए जसमा कैदीसँगै गार्डहरुलाई पनि बोलाइएको थियो । पार्टीमा वितरण गरिएको बिस्कुट र अंगूरमा निद्राको चक्की मिसाइएको थियो । त्यसको केही बेरमै जेलबाट भागेका शोभराज सँगै अन्य ४ जना कैदि पनि फरार भएका थिए ।
भारतीय अखबारमा आएका रिपोर्टहरु अनुसार शोभराज जेल बाहिर निस्किए पछि यति ढुक्क थिए कि उनले जेलको गेटमा तस्विर समेत खिचाए । रिचर्ड नेभिलले लेखेको आफ्नो जीवनीमा चार्ल्स शोभराज भन्छन्, ‘जब-जब मलाई मानिसहरूसँग कुरा गर्ने मौका मिल्छ , म उनीहरूलाई मोहित तुल्याउन सक्छु ।’ भनिन्छ दश वर्षको जेल सजायको अन्त्यमा, उनी जानाजानी भागेका थिए ताकि उनी फेरि गीरफ्तार हुन् र जेलबाट भागेको अभियोगमा मुद्दा चलोस् । यसो गर्दा उनी थाइल्याण्ड सुपुर्दगीबाट बच्न सक्थे। थाइल्यान्डमा उनीमाथि पाँचवटा हत्याको आरोप थियो र उनलाई मृत्युदण्डको सजाय हुने लगभग निश्चित थियो ।
सन् १९९७ मा रिहा हुँदासम्म बैंककमा उनीमाथि मुद्दा चलाउने समयसीमा बितिसकेको थियो । सन् १९९७ मा भारतले उनलाई फ्रान्स सुपुर्दगी गरेको थियो । नेपालमा गिरफ्तारी : सन् २००३ मा चार्ल्स शोभराज फेरि नेपाल फर्किए । प्रहरीले पक्राउ गर्न सक्ने अवस्थामा पनि उनी नेपालमा निर्धक्क घुमिरहेका थिए । यसबीच उनलाई काठमाडौंको एक क्यासिनोमा देखियो र त्यो कुरा मिडिया मार्फत बाहिर आयो । त्यस पछि उनि पक्राउ परे । नेपालमा उनीविरुद्ध नक्कली राहदानीमा यात्रा गरेको तथा क्यानाडेली नागरिकका साथै एक अमेरिकी महिलाको हत्या गरेको आरोप लगाइएको करिब २८ वर्ष पुरानो मुद्दा फेरि खोलिएको थियो । शोभराजले ती आरोप अस्वीकार गरे तर प्रहरीले आफूसँग पर्याप्त प्रमाण रहेको दाबी गर्यो । सन् २००४ मा उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । गत वर्ष अप्रिलमा चार्ल्स शोभराज नेपालको जेलबाट विदेशी मिडियालाई अन्तर्वार्ता दिएपछि फेरि चर्चामा आएका थिए ।
त्यतिबेला के प्रश्न उठयो भने जेलमा रहेका कैदीले मिडियासँग कसरी कुरा गरे ? शोभराजको जेल सजाय र भावी योजनाका बारेमा अन्तर्वार्तामा आधारित रिपोर्टहरू दुई बेलायती पत्रिकामा प्रकाशित भएका थिए । त्यस अघि उनी जेल मै एक नेपाली युवतीको प्रेममा रहेको कुराले चर्चामा आए भने पछि उनिहरुले जेलमै विवाह गरेको कुरा पनि सार्वजनिक भयो । आफुभन्दा तीन गुणा कान्छि ती युवतीसँग जेलमै हनिमुन मनाएको अर्को विवादास्पद समाचार बाहिरिए पनि त्यसको पुस्टि भने हुनसकेन । यद्यपि कलेज पढिरहेकि ती नेपाली किशोरी रियालिटि टिभि शो बिगबोसको भारतिय संस्करणमा सहभागी भएर थप चर्चामा आइन ।

प्रतिक्रिया