पोखरामा आज डेमो उडान भर्दै यति र बुद्ध

नेपालखोज २०७९ पुष ७ गते ११:५०

काठमाडौँ । आज नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन (डेमो) उडान हुँदैछ । बुद्ध एयरले २ बजे विमानस्थलमा डेमो उडान गर्ने भएकाे छ ।

दुवै कम्पनीका जहाज पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने छन् । नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय क्षेत्र पोखरामा आगामी जनवरी १ तारिखदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै यती र बुद्ध एयरलाइन्सले आज प्रदर्शन उडान गर्न लागेका हुन् । उडान भर्ने तयारीस्वरुप एयरलाइन्सले नयाँ विमानस्थलबाट उडान गर्न आवश्यक जनशक्ति तयारी गर्ने, आवश्यक तालिम दिने, भूमिस्थ उपकरण व्यवस्थापन गर्ने र विमानस्थलस्थित अफिस तयारी गर्ने आन्तरिक कामलाई तीव्र बनाएको छ ।

यति एयरलाइन्सले चालक दलका सदस्यलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एयरलाइन्सको आन्तरिक तयारीका लागि उडान भर्न लागेको प्रवक्ता बर्तौलाले बताए । यसरी हुने उडानले चालक दलका सदस्यलाई नयाँ विमानस्थलको वस्तुस्थिति जानकारी हासिल गर्न सहज हुने सो एयरलाइन्सले जनाएको छ ।

काठमाडौँबाट पोखराका लागि यतिले दैनिक सातवटा उडान गर्दै आएको छ भने अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नियमित उडानको सङ्ख्या थप गर्ने र पोखराबाट अन्य विमानस्थलमा क्षेत्रीय उडान गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया