शुक्रबार, जेठ ४, २०८१

फ्लासब्याक : २०२२-बलिउडका ठूला विवादहरु

नेपालखोज २०७९ पुष ८ गते ११:३६

सन् २०२२ बलिउडका लागि निकै खराब रह्यो । ठूला फिल्म फ्लप हुने देखि लिएर नचाहिने विवादसम्म , यस पटक बलिउड विवाद र विभाजनको सिकार मात्र भैरह्याे । केही चलचित्र बाहेक यो वर्ष बलिउडका अधिकांश चलचित्र बक्स अफिसमा फ्लप भए । यता बेला-बेलामा उठ्ने विवादले फिल्मभन्दा बलिउडलाई नै बढी नोक्सान पुर्यायो । कहिले फिल्मको बहिष्कार त कहिले बलिउड स्टारको बहिष्कार , यो वर्षभरि यस्तै चलि रह्याे । यो वर्ष बलिउडका लागि विवादले भरिएको थियो । यो अवधिमा हिट भएका फिल्मलाई लिएर समेत कुनै न कुनै विवाद देखा पर्यो ।

यो वर्ष बलिउडका के-कस्ता विवादहरू भए जसका कारण निकै हंगामा मच्चियो :

काली चलचित्रको पोस्टर बिबाद : २०२२ को शुरुवातदेखि नै विवादको सिलसिला सुरु भयो । त्यसमध्येको एउटा डकुमेन्ट्री फिल्म ‘काली’को पोस्टर विवाद थियो । चलचित्र कालीको पोस्टरलाई लिएर देशैभर चर्को विवाद भएको थियो । यस क्रममा हिन्दुहरुको भावनामा चोट पुर्‍याएको भन्दै फिल्मका निर्देशकलाई पक्राउ गर्न माग गरिएको थियो ।

रणवीर सिंहको न्यूड फोटोसुट : यो वर्षको दोस्रो ठूलो विवाद बलिउड स्टार रणवीर सिंहको नग्न फोटोसुट थियो । आफ्नो आउट अफ टच स्टाइलका लागि परिचित रणवीरले उक्त फोटोसुटपछि निकै ठुलो विरोधको सामना गर्नु परेको थियो । त्यो फोटोसुटको विरोध गर्नेहरूले रणवीरलाई देशको संस्कृति विरुद्ध गएको भन्दै आलोचना गरेका थिए र यही मुद्दाका कारण फेरि एकपटक बलिउडमाथि देशको संस्कृति नष्ट गरेको आरोप लागेको थियो ।

ज्याकलिन फर्नान्डिजको ठग सुकेशसँगको लिङ्क : बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई ईडीले १७ अगस्त २०२२ मा दिल्लीको एक अदालतमा दायर मुद्दामा बिपक्षि बनायो । ठग सुकेश चन्द्रशेखर विरुद्धको सबा ३०० करोड रुपैयाँको ठगिको मुद्दामा दायर आरोपपत्रमा आरोपीका रूपमा ज्याकलिनको समेत नाम थियो। यस मामिलामा ज्याकलिनपछि नोरा फतेही, जान्हवी कपूर, सारा अली खान, भूमि पेडनेकरआदिको नाम आएपछि यो विवाद बढ्दै गएको छ ।

कश्मीर फाइल्सको विवाद: विवेक अग्निहोत्रीको बहुचर्चित फिल्म ‘द कश्मीर फाइल्स’ यो वर्ष चर्चामा थियो । कश्मीरी पण्डितहरूको सङ्घर्षमा आधारित यो फिल्मले थिएटरमा ठूलो कमाइ गरे पनि इन्टरनेशनल फिल्म फेस्टिभल अफ इन्डियामा निर्णायक प्रमुख इजरायली फिल्म मेकर नादव लापिडले द कश्मीर फाइल्स लाई भल्गर र प्रोपोगाण्डा फिल्म भनेपछि विवाद निकै चर्किएको थियो ।

ऋचा चड्डाको विवादास्पद ट्वीट : बलिउड अभिनेत्री ऋचा चड्डाले आफ्नो एक विवादास्पद ट्वीटका कारण सामाजिक सञ्जालमा चर्को आलोचनाको सामना गर्नु पर्यो । वास्तवमा, ऋचाले भारतीय सेनाका एक वरिष्ठ अधिकारीको ट्वीटको जवाफमा ‘गलवान सेज ही’ पोस्ट गरेकी थिइन् । त्यसपछि भारतीय सेनाको अपमान गरेको भन्दै उनी माथि जाइलाग्नेहरु निकै भए । अन्ततः उनले आफ्नो भनाइका लागि माफी माग्नुपर्यो ।

लाल सिंह चड्डाको बहिष्कार : आमिर खान तथा करीना कपूर खानको फिल्म लाल सिंह चड्ढा पनि यो सूचीमा परेको छ । यो फिल्मको बहिष्कार फिल्म रिलिज हुनुअघि नै सुरु भएको थियो । आमिर खानमाथि भारतीय सेनाको अपमान गरेको र धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लागेको थियो । भारतका विभिन्न राज्यमा यो फिल्मको चर्को विरोध भयो । फलस्वरूप फिल्म बक्स अफिसमा फ्लप साबित भयो।

ब्रह्मास्त्रमा रणवीर कपुरको जुत्ता विवाद : रणवीर कपुर तथा आलिया भट्ट स्टारर फिल्म ब्रह्मास्त्रको ट्रेलरमा रणवीर जुत्ता लगाएर मन्दिरमा प्रवेश गरेको देखाइएको छ । धार्मिक भावनासँग खेलवाड गरेको भन्दै धेरैले यसको विरोध र बहिष्कार गर्न थाले । निर्देशक अयान मुखर्जीले फिल्ममा रणवीर मन्दिरमा नभई दुर्गा पूजा पण्डलमा प्रवेश गरेको स्पष्ट पारे । त्यसपछि फिल्म रिलिजका क्रममा केही व्यक्तिले रणवीरको गाईको मासु मीठो लाग्ने उनको पुरानो भनाइ झिकेर आपत्ति जनाए र फिल्मको विरोध सुरु भयो ।

पठान फिल्मको बेशर्म रंग लाई लिएर विवाद : यो सूचीको पछिल्लो विवाद शाहरुख खान र दीपिका पादुकोण स्टारर फिल्म पठानको गीत बेशर्म रंगका बारेमा छ । यो गीतमा दीपिका पादुकोणको कामुक डान्स मुभ र भगवा रंगको छोटो पोशाकलाई लिएर विवाद बढेको थियो । धार्मिक संगठनदेखि राजनीतिक दलसम्मले यसको कडा विरोध गरेका छन् । तर, यो गीतलाई बलिउड स्टारहरुले सपोर्ट पनि गरेका थिए ।

प्रतिक्रिया