चर्को ब्याजदरको विरोधमा विराटनगरका उद्योगी-व्यवसायीहरु आज पनि धर्नामा

नेपालखोज २०७९ पुष ८ गते १३:३४

विराटनगर । नेपाल राष्ट्र बैंक र सरकारी नीतिले आफूहरुलाई पेशाबाटै विस्थापनको खतरामा पुर्‍याएको बताउँदै आन्दोलनमा रहेका विराटनगरका उद्योगी व्यवसायीहरुले आज पनि राष्ट्र बैंकविरुद्ध धर्ना जारी राखेका छन् । बिहीबारदेखि नेपाल राष्ट्र बैंकको विराटनगरस्थित कार्यालय घेराउमा रहेका उद्योगीहरूले शुक्रबार पनि धर्ना जारी राखेका हुन् ।

धर्ना आज पनि बेलुका ५ बजेसम्म जारी रहने उनीहरुले बताएका छन् । हाल १६ प्रतिशत पुगिसकेको ब्याजदर एकल अंकमा नआएसम्म, स्प्रेड दरलाई ४.४ बाट घटाएर २ प्रतिशत, संस्थागत निक्षेपको ब्याज २ प्रतिशत र चालु पुँजी कर्जा निर्देशिका खारेज नगरेएसम्म आन्दोलन नरोकिने अडान उनीहरुले दोहोर्याएका छन् ।

कालो ब्यानर र प्लेकार्डसहित धर्ना बसिरहेका छन् । तीन दर्जनभन्दा बढी व्यावसायिक संघ संगठनको अगुवाइमा सुरू भएको आन्दोलनका क्रममा राष्ट्र बैंकको प्रादेशिक कार्यालयमा पैदल जाने कसैलाई पनि नरोक्ने तर नगद बोकेका गाडीको आवतजावतमा अवरोध पुर्याउने उनीहरुको भनाइ छ ।

यसअघि नै गृहमन्त्रीले बालकृष्ण खाणले बुटवलमा एक कार्यक्रममा आन्दोलनकारी उद्योगी व्यवसायीहरुको माग सम्बोधन गर्न ब्याजदर घटाउन राष्ट्र बैंकसँग आग्रह गर्दै नघटाए सरकारले नीतिगत हस्तक्षेप गर्ने चेतावनी दिइसकेका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राष्ट्र बैंकको मौद्रिक नीतिका कारण व्यवसायी मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताउँदै आन्दोलन बाध्यकारी भएको बताए ।

प्रतिक्रिया