देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

नेपालखोज २०७९ पुष ९ गते ६:४४

काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागिरहेको छ।

महाशाखाका अनुसार शनिबार दिउँसोː प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही  भू-भागमा  बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ ।

प्रतिक्रिया