शनिबार, असार २१, २०८२

फेरि आउँदैछ भ्याक्सिनको दिन : यसको साइड इफेक्टका बारेमा कति जानकारी छ ?

नेपालखोज २०७९ पुष ९ गते ९:०३

काठमाडाैं । लन्डनस्थित विज्ञान संग्रहालयमा देखाइएका कुराहरूले कोरोना भ्याक्सिनको आविष्कारदेखि लिएर यसको निर्माण र विश्वभर यसको वितरण लाई दर्शाउँछ ।

उक्त प्रदर्शनीको एक कुनामा कार्डबोर्डमा केही सिरिन्ज र इन्जेक्सन भाइलहरू राखिएका छन् । तिनको प्रयोग डिसेम्बर ८ मा गरिएको थियो। कोरोना भ्याक्सिनको क्लिनिकल अध्ययनबाहेक ९० वर्षीया बेलायती महिला मार्गरेट केननलाई कोरोनाको सुई लगाइएको त्यो पहिलो घटना थियो । त्यो ८ डिसेम्बरदेखि अहिलेसम्म विश्वभर कोरोना भ्याक्सिनको अरबौं डोज दिइसकिएको छ ।

यसमा रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा कोरोनाका नयाँ भेरियन्टहरूबाट जोगाउन दिइने बूस्टर डोज पनि समावेश छ। त्यसोभए यी दुई वर्षको खोपमा हामीले के सिक्यौं त ? अहिलेसम्म हामीले कोरोना भ्याक्सिनको साइड इफेक्टका बारेमा कत्तिको थाहा पाउन सकेका छौँ ?

अहिलेसम्म आएका अनुसन्धान नतिजाहरु अनुसार कोभिड–१९ विरुद्ध स्वीकृत भएका सबै खोपहरूले विश्वभर अस्पतालमा भर्ना हुने सङ्क्रमितको मृत्युको सङ्ख्यामा कमी ल्याएका छन । अन्यथा कोरोना महामारीको संकट योभन्दा धेरै गुणा ठूलो हुने थियो ।

यस क्रममा कतिपय खोपका साइड इफेक्टका बारेमा पनि चर्चा चल्यो । केही स्वास्थ्य संस्था एवं निकायले खोपको गम्भीर साइड इफेक्टका बारेमा चिन्ता समेत व्यक्त गरे । यद्यपि ती अपवाद जस्तै थिए , अझै पनि खोपको प्रभावकारिता तथा साइड इफेक्टका बारे सत्य कुरा के हो भन्नेमा धेरैलाई अलमल छ ।

कोरोना भ्याक्सिनको सबैभन्दा ठूलो प्रभाव विश्वभर अस्पताल भर्ना र मृत्यु दरमा कमी आउनु हो ।भ्याक्सिन ठूलो जनसङ्ख्यामा पुगेपछि गम्भीर सङ्क्रमण, अस्पतालमा भीड र मृत्यु हुनेहरुको सङ्ख्यामा कमी आएको छ । यस सम्बन्धमा कमनवेल्थ फण्डले अमेरिकाको येल युनिभर्सिटीका वैज्ञानिकहरुसँग मिलेर एउटा सर्वेक्षण गरेको थियो । यहि डिसेम्बरमै प्रकाशित उक्त प्रतिवेदनमा वैज्ञानिकहरूले कोभिड–१९ विरुद्धको खोप नबनाएको भए के हुन्थ्यो भन्ने कुरा बुझ्ने प्रयास गरेका छन् ।

यो सर्वेक्षणको नतिजाले के स्पष्ट संकेत दिएको छ भने यदि खोप नआएको भए अमेरिकामा मात्र हालको तथ्यांकभन्दा ( बितेका २ वर्ष भित्र )१ करोड ८५ लाख बढी मानिस अस्पताल भर्ना हुने थिए भने ३२ लाख मानिसको मृत्यु हुने थियो । यसका साथै खोपका कारण अमेरिकामा करिब १.३ ट्रिलियन डलरको मेडिकल खर्च पनि जोगिएको छ । केस अझ बढेको भए यो रकम संक्रमितहरुको उपचारमा खर्च हुने थियो ।

सर्वेक्षणको नतिजा विश्लेषण गर्ने वैज्ञानिकहरुका अनुसार अमेरिकामा १२ डिसेम्बर २०२० यताका २ वर्ष मा ८ करोड २० लाख मानिस कोरोनाबाट संक्रमित भएका थिए जसमध्ये ४८ लाख मानिसलाई अस्पतालमा भर्ना गरिएको थियो भने ७ लाख ९८ हजार जनाको मृत्यु भएको थियो । यदि मानिसहरूलाई खोप नदिएको भए अमेरिकामा डेढ गुणा बढी मानिस संक्रमित हुने थिए , चार गुणा बढी मानिस अस्पतालमा भर्ना हुने अनि चार गुणा बढी मानिसको मृत्यु हुने थियो ।

पछिल्ला दुई वर्षयता कोरोना भ्याक्सिन लगाएपछि त्यसको मानिसमा कस्तो असर पर्छ भन्ने कुरा पत्ता लगाउन नियामक निकाय तथा सरकारी स्वास्थ्य संस्थाहरु निरन्तर प्रयास गरिरहेका छन । यसका लागि भ्याक्सिन लिने व्यक्तिको अनुगमनदेखि बिरामी पर्नेहरु सम्मको पूर्ण अनुसन्धान गरिएको थियो । बेलायतको नेशनल हेल्थ सर्भिसले आफ्नो अनुसन्धानमा उल्लेख गरे अनुसार भ्याक्सिन लिनेहरुमा देखिने साइड इफेक्टका लक्षणहरु यस प्रकार थिए :

• इंजेक्शन साइटमा दुखाइ
• हल्का ज्वरो र थकान
• टाउको तथा शरीर दुख्ने
यी लक्षणहरू धेरै हल्का भएका र बढीमा एक हप्तासम्म चल्ने कुरामा बिज्ञहरु सहमत छन । यस्ता हल्का साइड इफेक्ट बाहेक खोपको गम्भीर साइड इफेक्ट कस्तो हुन्छ भन्ने कुरा अनुसन्धान गरेर अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (CDC) ले पछिल्लो तथ्यांक सार्वजनिक गरेको हो।

सीडीसी को तथ्याङ्क अनुसार, खोप लिएपछि हालसम्म रिपोर्ट गरिएका सबैभन्दा गम्भीर साइड इफेक्ट यस प्रकार छन् :
• एनाफिलेक्सिस : खोप लिएपछि गम्भीर एलर्जीक प्रतिक्रिया, साइड इफेक्ट प्रत्येक १ लाख मानिस मध्ये ५ जनामा देखियो ।
• थ्रोम्बोसिस : जोनसन खोपमा बढी तिब्र साइड इफेक्ट देखिएको छ । यसमा प्रत्येक १० लाखमा ४ जनामा ​​गम्भीर साइड इफेक्टको सिकार भएको पाइयो ।
• जीबीएस (GBS ) : यो जोनसन खोपको मामिलामा बढी देखिएको थियो। यस्तो साइड इफेक्ट ५० वर्ष भन्दा माथिका मानिसहरूमा देखा परेको थियो ।
• मायोकार्डाइटिस र पेरीकार्डाइटिस : फाइजरको खोप लिएपछि मुटु सुन्निने समस्या १२ देखि १५ वर्षको उमेर समूहमा प्रति १ लाखमा ७० केस देखियो । १६ – १८ वर्षको उमेर समुहमा प्रती १० लाखमा १०६ तथा १८-२४ को उमेरसमुहमा प्रती १० लाखमा ५३.४ साइड इफेक्ट फेलापरेको सीडीसीको प्रतिवेदनमा उल्लेख छ । ‘मायोकार्डाइटिस र पेरीकार्डाइटिसबाट पीडित व्यक्तिहरूको उपचारका क्रममा औषधिको प्रभाव छिट्टै देखियो र उनीहरू केही दिनमै निको भए। – प्रतिवेदनमा भनिएको छ ।

यहि तथ्यलाइ आधार बनाएर प्रतिवेदनमा भनिएको छ- “धेरै अध्ययनको नतिजा र सेफ्टी मोनिटरिङ सिस्टमको रिपोर्टका आधारमा दिइँदै आएका सबै खोपहरू सुरक्षित छन् भनी अनुमान गर्न सकिन्छ।” जहाँसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेहरुको कुरा छ, त्यहाँको तथ्याङ्क अनुसार डिसेम्बर ७ सम्म कोरोना भ्याक्सिनको ६५ करोड ७० लाख डोज दिइसकिएको छ । खोप लगाएपछि १७ हजार ८०० जनाको मृत्यु भएको छ, जुन अमेरिकामा कुल मृत्युको ०.००२७ प्रतिशत हो ।

भ्याक्सिन लगाएपछि भएका ती सबै मृत्युको विस्तृत अनुसन्धान समेत भएको थियो । जोनसन भ्याक्सिन लिनेमा नौ जनाको मात्र मृत्यु भएको पाइयो ।
डा . बल्लालाई भन्छन्, ‘संसारमा कुनै यस्तो खोप छैन जसमा कुनै जोखिम नहोस।’ भ्याक्सिन २०२१ मा प्रयोगका लागि उपलब्ध भए पनि कोरोनाजस्तो महामारीलाई पूर्ण रूपमा नियन्त्रण गर्ने दिशामा अझै धेरै चुनौतीहरू छन् ।

महामारीविद् आन्द्रे रिबास भन्छन्, “यदि विश्वव्यापी परिप्रेक्ष्यमा हेर्ने हो भने, अझै पनि धेरै देशहरू खोपमा धेरै पछाडि छन्।”

हाइटी जस्तो देशमा जनसंख्याको २ प्रतिशतले मात्र खोपको प्रारम्भिक डोज पाएका छन्। यसबाहेक अल्जेरियामा १५ प्रतिशत , मालीमा १२ प्रतिशत, कंगोमा ४प्रतिशत र यमनमा २ प्रतिशतले मात्र खोपको डोज पाएका छन् । यस बिषयमा चिन्ता व्यक्त गर्दै डा . इसाबेल भन्छिन्, ‘यो चिन्ताजनक कुरा हो किनभने धेरै मानिसमा संक्रमण फैलिएपछि भाइरसको थप घातक प्रकारको जोखिम बढ्छ।’

न्युज एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया