अफगानिस्तानमा महिलाहरूले के गर्न सक्दैनन् ?

काठमाडाैं । तालिबानले अफगानिस्तानमा महिलाहरूलाई बहिष्कार गर्न चाहेको क्षेत्र र गतिविधिहरूको सूची बढ्दै गएको छ । तालिबान शासनमा अफगानिस्तानका महिलाहरू कति दबाबमा छन् हेरौं :
विद्यालय जान पाउँदैनन् : तालिबानी शासनमा अफगानिस्तानका अधिकांश क्षेत्रमा महिलाहरूलाई माध्यमिक तहको शिक्षा लिन प्रतिबन्ध छ । आठ वर्षभन्दा माथिका बालिकाहरु विद्यालय जान पाउँदैनन् भने पछिल्लो निर्णय अनुसार बिश्व बिध्यालय शिक्षाबाट पनि महिलाहरुलाइ पुरै बन्चित गरिएको छ ।
घरबाट बाहिर निस्कन पाइँदैन : महिलाको आवतजावतमा प्रतिबन्ध लगाइएको छ । तालिबानले महिलाहरुलाई अत्यावश्यक काम बाहेक घरभित्रै बस्न निर्देशन दिएको छ । बाहिर जानु परे अनुहार छोपेर वरपर मात्र जान पाइन्छ । लामो दुरीको यात्रा गर्नु परे साथमा पुरुष आफन्त राख्नु पर्ने हुन्छ ।
जागिर पाउन सक्दैनन : अधिकांश क्षेत्रमा महिलालाई काम गर्न पनि प्रतिबन्ध छ । महिलाले सरकारी कार्यालयमा समेत काम गर्न पाउँदैनन् । उनीहरूलाई स्वास्थ्य क्षेत्रमा मात्र काम गर्न दिइन्छ, तर त्यो पनि थोरै संख्यामा । यसैगरि आइएनजिओको काम पनि महिलाका लागि प्रतिबन्धीत छ ।
पार्क जान पाउँदैनन् : सुरुमा तालिबानले पुरुष र महिलाहरूलाई छुट्टाछुट्टै पार्कमा जान अनुमति दिए पनि पछि महिलाहरूलाई पार्कमा जान पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो जसका कारण आमासँग पार्कमा जाने धेरै बालबालिकाहरु पनि पार्क घुम्न पाउँदैनन् । यसबाहेक मनोरञ्जन पार्कमा पनि महिलाको प्रवेश निशेध छ ।
जिम जान सक्दैनन् : पार्क बाहेक महिलालाई जिम जान पनि प्रतिबन्ध छ । यसअघि महिलालाई पुरुषहरुले प्रवेश नपाउने छुट्टै जिममा जान अनुमति दिइएको थियो तर अहिले उनीहरुमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ ।
महिला कल्याण मन्त्रालय बन्द : तालिवानको सरकार तथा निर्णायक ठाउँमा एकजना पनि महिला छैनन्। अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिनुअघि त्यहाँ महिला मामिलामा समर्पित एउटा छुट्टै मन्त्रालय थियो तर तालिबानले त्यो मन्त्रालय बन्द गरिदियो ।
अदृश्य भएका छन् महिला : धेरै महिला तथा महिला अधिकारकर्मीहरूले भनेका छन् – यी नियमहरुका कारण महिलाहरू अफगानिस्तानको सार्वजनिक जीवनबाट अदृश्य छन् ।
प्रतिक्रिया