बिहीबार, असोज २४, २०८१

कालीगण्डकीमा अस्थायी काठेपुलको भर

नेपालखोज २०७९ पुष ११ गते १७:४६

गलेश्वर । अन्नपूर्ण गाउँपालिका-२ भूरुङतातोपानीदेखि अन्नपूर्ण गाउँपालिका-६ पाउद्वारको तातोपानीकुण्ड जानका लागि कालीगण्डकी नदीमा स्थायी पुल नहुँदा अस्थायी काठेपुलको प्रयोग गर्नुपर्ने बाध्यता छ । बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत पर्ने यो सडकखण्डमा हिँउदमा मात्रै प्रयोग गर्न मिल्ने काठेपुल पनि स्थानीय एक युवाले व्यक्तिगत लगानीमा निर्माण गरेका छन् ।

सङ्घ, प्रदेश र स्थानीय सरकारले पुल निर्माणमा चासो नदेखाएपछि स्थानीय युवाकुमार तिलिजाले व्यक्तिगत एक लाख रुपैयाँ लगानी गरी काठेपुल निर्माण गरेको बताए ।

स्थानीय प्रविधिको प्रयोग गरी निर्माण गरिएको उक्त काठेपुल हिउँदको समयमा मात्र प्रयोग गरिन्छ । बर्खामा कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुने भएकाले तातोपानी कुण्डमा उपचारका लागि जाने बिरामी र अरु पर्यटक नारच्याङको बाटो हुँदै एक घण्टा समय खर्चेर पाउद्वार तातोपानी कुण्डमा पुग्नुपर्ने बाध्यता छ । पुल नहुँदा नारच्याङ पुगेर करिब एक घण्टाको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता हटाउन कालीगण्डकीमा अस्थायी पुल निर्माण गरिएको तिलिजाले जानकारी दिए ।

‘यस कुण्डमा नियमित रुपमा स्नान गर्ने बिरामी र पर्यटकसमेत आउने गर्छन्, तर बाटो घुमाउरो हुँदा आवतजावतमा झण्झट भएकाले हिउँदयामको लागि मात्रै भए पनि अस्थायी साँघु बनाएका हौँ,’ उनले भने । पुल बनाउन काठका फ्ल्याक, बाँस र ग्याबियन झाली प्रयोग गरिएको छ । वारपार गर्दा सुरक्षाका लागि पुलको दाँयाबाँया काठकै रेलिङ हालिएको छ ।

यहाँका स्थानीयले हिउँद यामका लागि मात्रै अस्थायी काठको पुल बनाउने गर्दछन् । अस्थायी काठे साँघु बनेसँगै कुण्डमा स्नान गर्न आउने बिरामी अवस्थाका वृद्धवृद्धा र पर्यटकलाई निकै सहजभएको छ ।

पुल बनाउने खर्च गाउँपालिकाले दिने आश्वासन दिए पनि अहिलेसम्म रकम नपाएको तिजिलाले बताउनुभयो । कुण्डको व्यवस्थापनको जिम्मा लिनुभएका तिलिजाले पुल बनाएका हन् ।

अस्थायी पुल निर्माणपछि ४५ मिनेटको दूरी पाँच मिनेटमै सीमित भएको कुण्डमा नियमित रुपमा स्नानगर्दै आएकी रामदेवीपुनले बताए । यतापूर्वाधार विकास कार्यालय म्याग्दीले उक्त स्थानमा पुल बनाउनका लागि योजना छनोट भएको र कार्यान्वयनको चरणमा रहेको जनाएको छ । पुल नहुँदा पाउद्वार जान चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको स्थानीयवासीको गुनासो छ । -रासस

प्रतिक्रिया