आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : बेसहारा ज्येष्ठ नागरिकलाई भोजन

नेपालखोज २०७९ पुष ११ गते १९:०८

काठमाडौं । दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका सन्दर्भमा आज काठमाडौंको रानीवनस्थित मानवसेवा आश्रममा आश्रित ज्येष्ठ नागरिक (असहाय तथा बेसहारा)हरूका लागि भोजन गराइएको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको समुपस्थितिमा यहाँ रहेका दुई सय बेसहारा तथा असहायहरू तथा ज्येष्ठ नागरिकहरूलाई भोजन गराइएको हो ।

विसं २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै यो दिवस मनाउन सुरु गरिएको हो । नेपाल सरकारको गत वर्षको निर्णयबमोजिम पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको थियो । यो वर्ष दोस्रो दोस्रो ज्येष्ठ नागरिक दिवस मनाइँदै छ ।

यस वर्ष पनि ‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागिएको छ । यो क्रममा उपप्रमुख डङ्गोलले मानवसेवा आश्रम आफ्नो परिवारजस्तो भएको बताउँदै ज्येष्ठ नागरिकहरूको सम्मान हामी सबैको कर्तव्य भएको बताए । उनले आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा अन्य आश्रित व्यक्तिहरूलाई भोजनसमेत गराएका थिए ।

‘मानवसेवा आश्रममा आउँदा र यहाँका आश्रित मानवहरूलाई भेटेपछि मलाई अझै बढी ऊर्जा र जिम्मेवारी महसुस हुन्छ,’ उपप्रमुख डङ्गोलले भने, ‘अग्रज र इतिहासको सदैव कदर गर्नुपर्छ अग्रजको सम्मान र माया पनि गर्नुपर्छ ज्येष्ठ नागरिकका लागि कर्तव्य पूरा पनि जाग्नुपर्छ ।’

उनले सहयोगापेक्षी सडकमानवहरूका लागि आफूले र महानगरले गर्नसक्ने सबै कार्य गर्ने प्रतिबद्धता पनि जनाए । उपप्रमुख डङ्गोलले हाल मानवता प्रावद्र्धनका लागि महिनाव्यापी रुपमा आयोजित साङ्गीतिक यात्राका क्रममा यही १६ गते काठमाडौंको भृकुटीमण्डपमा हुन लागिरहेको नेपथ्य लाइभ कन्सर्टमा सहभागी भई मानवीय सेवामा सहयोग गर्न पनि सबैमा अनुरोध गर्नुभएको छ । उनी काठमाडौं महानगरको उपप्रमुख हुनुअघि देखि नै सडक आश्रित मानवहरूको उद्धारमा सक्रिय हुँदै आएका थिए ।

उक्त समारोहमा मानवसेवा आश्रमका केन्द्रीय सचिव तथा प्रवक्ता सुमन बर्तौलाले आश्रमको सेवा कार्यलाई प्रभावकारी बनाउन तथा मानवता प्रवर्द्धनका लागि यस पटक मुलुकका प्रमुख १० सहरमा आयोजना गरिएको सङ्गीत यात्राको अन्तिम कार्यक्रम यही १६ गते भृकुटीमण्डपमा हुने जानकारी गराउँदै त्यसमा सहभागी हुन काठमाडौंवासीमा अनुरोध गरे । उनले सडक आश्रित मानवका लागि काठमाडौं महानगरपालिकाको महत्वपूर्ण योगदान रहँदै आएको बताए ।

काठमाडौंको रानीवनस्थित मानव सेवा आश्रममा हाल सडकबाट उद्धार गरिएका दुई सयजना असहाय तथा बेसहारा सडकमानवहरू आश्रित छन् । १० वर्षको अवधिमा १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा दिइरहेको आश्रममा अहिले एक हजार ६ सय सडकमानव तथा असहाय मनोरोगीहरू आश्रित छन् ।

प्रतिक्रिया