बिहीबार, जेठ २, २०८२

स्पेनिस फुटबल क्लबले आज र भोलि नेपालमा मैत्रीपूर्ण खेल खेल्ने

नेपालखोज २०७९ पुष १३ गते १२:४४

काठमाडौं । स्पेनको दोस्रो डिभिजनको क्लब कासेरेन्यो सिपीले आज बुधबार पोखरा रंगशालामा गण्डकी–११ सँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालका दुई फरक टिमसँग मैत्रीपूर्ण खेल खेल्न स्पेनको क्लब हिजै बिहान काठमाडौं आइ आन्तिरक उडानमार्फत् पोखरा पुगिसकेको छ । स्पेनस्थित नेपाली राजदूतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ तथा कास्की जिल्ला फुटबल संघको समन्वयमा लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनको क्लबलाई मैत्रीपूर्ण खेलका लागि नेपाल आमन्त्रण गरेको हो ।

५० सदस्यीय उक्त स्पेनिस टिमले नेपालमा दुई खेल खेल्नेछ । बुधबार पोखरा रंगशालामा गण्डकी–११ सँगको खेल पछि बिहीबार दशरथ रंगशालामा काठमाडौं–११ सँग मैत्रीपूर्ण खेल हुनेछ । ‘शान्तिका लागि फुटबल’को नाराका साथ नेपालबाट सम्पूर्ण विश्वलाई शान्तिको सन्देश प्रवाह गर्ने उदेश्यले सिपीले नेपाल भ्रमण गरेको बताइएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान अनिल गुरुङको कप्तानीमा रहने गण्डकी–११ को प्रशिक्षणको जिम्मेवारी राजेन्द्र तामाङले पाएका छन् । गण्डकी–११ मा प्रदेशका अन्य राष्ट्रिय खेलाडी पनि रहनेछन भने काठमाडौं–११ को टिम राष्ट्रिय टिमका अर्का पूर्वकप्तान विराज महर्जनको कमान्डमा रहने बताइएकोछ । काठमाडौंका प्रशिक्षकमा मेघराज केसी रहेने छन् । यो टिममा पनि काठमाडौंका अन्य राष्ट्रिय खेलाडीहरु समावेश छन् ।

सिपीले स्पेनको दोस्रो ठूलो घरेलु फुटबल प्रतियोगिता कोपा डेल रे मा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ जुन खेल यहि जनवरी ४ मा हुनेछ । केही दिनअघि मात्र कोपाको अन्तिम ३२ को ड्र घोषणा भएको थियो र सिपी त्यसमा पर्न सफल भयो । सिपीले नेपालमा हुने खेललाई रियलसँगको खेलअघिको तयारी खेलका रूपमा लिएको बताएकोछ ।

प्रतिक्रिया